चितवन । शहीद स्मृति क्याम्पस रत्ननगरको जग्गा ‘भूमाफिया’को कब्जामा गएको छ । क्याम्पस सञ्चालक समितिले आज क्याम्पस परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी क्याम्पसले भोगचलन गर्दै आएको ३ कठ्ठा १५ धुर जग्गा ‘भूमाफिया’को कब्जामा गएको जनाएको छ ।
क्याम्पसको जग्गा ४ बिघा ३ कठ्ठा १५ धुर रहेकोमा हाल ४ बिघामात्र रहेको छ । ४ बिघा जग्गा क्याम्पसले २०३७ सालमा नै ८० हजारमा किनेको थियो । किन्न बाँकी रहेको दानमा क्याम्पसले पाएको जग्गा नै अहिले भूमाफियाको कब्जामा गएको क्याम्पसले जनाएको हो ।
क्याम्पस सञ्चालक समितिका संयोजक शेषनाथ अधिकारीले २०३७ सालदेखि क्याम्पसले भोगचलन गर्दै आएको जग्गा नै भूमाफियाको कव्जामा गएको बताए । उनले २०३७ सालमा दुर्गादेवी श्रेष्ठबाट दानको रुपमा पाएको जग्गा नै अहिले बेचिएको बताए । उनले भने, ‘४० वर्षअघि जसले क्याम्पसलाई जग्गा दान दिएको थियो, उनै (दुर्गादेवी श्रेष्ठ) ले क्याम्पसको जग्गा २०७३ सालमा बेचिन् । कलेजले भोगचलन गरेको जग्गा अरुलाई बेच्दा पत्तो नै पाएन ।’
४० वर्षअघि जसले क्याम्पसलाई जग्गा दान दिएको थियो, उनै (दुर्गादेवी श्रेष्ठ) ले क्याम्पसको जग्गा २०७३ सालमा बेचिन् । क्याम्पसले भोगचलन गरेको जग्गा अरुलाई बेच्दा पत्तो नै पाएन ।
‘लिखितरुपमा माइन्युट गरी दान पाएको जग्गा अहिले बेचियो, त्यतिबेला त्यो जग्गा मोहीका कारण किन्न असहज भएर तत्काल किनेनौँ’ संयोजक शेषनाथ अधिकारीले भने, ‘अहिले उनै दान दिने व्यक्तिले अन्य आफ्नो निजी जग्गासँगै क्याम्पसको जग्गा पनि बेचिदिइन् ।’
पत्रकार सम्मेलनमा क्याम्पसका प्रिन्सिपल धर्मदत्त तिवारीले अचानक ४०-५० जनाको जथ्थाले क्याम्पसले भोगचलन गर्दै आएको जग्गाको तारबार भत्काउन आएपछि बल्ल कलेजको जग्गा व्यवसायीलाई बेचेको थाहा भएको बताए । उनले भने, ‘पाँच वर्षअघि नै कलेजको जग्गा दुर्गादेवीले अन्य जग्गासरह जग्ग्गा व्यवसायीलाई बेचेकी अहिले आएर थाहा भयो, जग्गा व्यवसायीलृे कलेजको जग्गा आफ्नो नाममा पारेर लालपुर्जासमेत निकालिसकेछन् ।’
चिरभोगको आधारमा पनि कानुनीरुपमा स्वतः क्याम्पसको ठहरिने उक्त जग्गा भोलानाथ नेपालकी पत्नी अर्पना नेपाल र कमलचन्द्रकी पत्नी सुमित्रा खनालले २०७३ सालमा संयुक्तरुपमा जग्गाको अवस्थिति हेर्दै नहेरी वा क्याम्पसको हकभोगको भए पनि कब्जा गर्न सकिन्छ भनी गलत मनसाय लिई खरिद गरेको पाइयो ।
क्याम्पसले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘चिरभोगको आधारमा पनि कानुनीरुपमा स्वतः क्याम्पसको ठहरिने उक्त जग्गा भोलानाथ नेपालकी पत्नी अर्पना नेपाल र कमलचन्द्रकी पत्नी सुमित्रा खनालले २०७३ सालमा संयुक्तरुपमा जग्गाको अवस्थिति हेर्दै नहेरी वा क्याम्पसको हकभोगको भए पनि कब्जा गर्न सकिन्छ भनी गलत मनसाय लिई खरिद गरेको पाइयो ।’
क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष ईश्वरी अर्यालले क्याम्पसको जग्गा कलेजलाई नै फिर्ता गरिनुपर्ने बताए । उनले भने, ‘क्याम्पसको हडपेको जग्गा क्याम्पसलाई नै फिर्ता गराउनको लागि हामी स्थानीयलाई गुहारेका छौँ, स्थानीयकै सुझावअनुसार अघि बढेका छौँ ।’ उनका अनुसार क्याम्पसको जग्गा व्यक्तिको नाममा जाँदा हामी मौन बस्न सक्दैनौँ, जसरी नै क्याम्पसको जग्गाा क्याम्पसलाई नै फिर्ता गराउँछौँ ।’
उनले भने, ‘यस विषयमा जिल्ला अदालतमा मुद्दा पनि चल्यो, दुई पटक अदालतमा बहस पनि यो, तर क्याम्पसलाई बहसमा पर्याप्त छलफल गर्न नदिई एकतर्फी जग्गा व्यवसायीको पक्षमा फैसला आयो ।’ जिल्ला अदालतको फैसला भूमाफियालाई पोस्ने गरी आएपछि क्याम्पस प्रशासन पुनरावदेन अदालत हेटौँडा पुगेको छ । जग्गाको बहस अब पुनरावेदन अदालतमा पनि हुने कलेजले जनाएको छ ।