काठमाडौं । वृहत नागरिक आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारलाई पार्टी कार्यालय नबनाउन अपिल गरेको छ । प्रधानमन्त्री बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको पदाधीकारी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका आरोप पनि लगाइएको छ ।
जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलनको आग्रह छ ।
“नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका छन् । बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन, पार्टी नेता–कार्यकर्ताको आश्रय/विश्राम/भेटघाट स्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलन सरकारको अविलम्ब ध्यानाकर्षण गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका प्रायः बैठक राख्ने गरेका थिए । उक्त विषयप्रति उनको चर्को आलोचना समेत भएको थियो ।