काठमाडौं । गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता प्रकरणमा प्रहरीले एकजना महिलालाई दाङबाट पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको समन्वयमा दाङको घोराही उपमहानगरपालिका–१४, मिलनचोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको हो ।
गोमाका श्रीमान् टोपबहादुरले गैरकानुनी रूपमा नेपालीलाई अमेरिका पठाउन खोजेका थिए । उनी हाल विदेशमा छन् । तर, बेपत्ता भएका भनिएकाहरुले टोपबहादुरकी श्रीमती गोमाको खातामा रकम जम्मा गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार यही असार ७ गते नेपालका आठ र १० बंगलादेशी नागरिक सवार डुंगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा सात नेपाली बेपत्ता भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।