चितवन । जिल्ला समन्वय समिति चितवनमा यसपटक मत भन्दा पनि भाग्य बलियो भएको छ । भाग्य छ भन्दैमा डोकोमा दूध अडिदैन, तर भइदियो यस्तै, गोला थुथ्दा जित भयो । जिसस चितवनमा यसपटक नेकपा एमालेलाई डोको दुहेको दूध अडिएजस्तो भएको छ । सत्तागठबन्धन र एमालेको समान ७-७ मत आएपछि भएको गोलाप्रथामा एमालेको जित भएको छ । यसलाई नेकपा एमालेले सत्यको जित भनेका छन् ।
गोलाबाट जिसस प्रमुखमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । जिसस ६ जना सदस्यका लागि एमालेले ५ जना उमेदवार बनाएको थियो । जसमध्ये गोलाप्रथाबाट ४ जना एमालेका उमेदवार निर्वाचित भएका छन् । खुला सदस्यमा गोलाप्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेलमात्रै निर्वाचित भए । नेकपा एमालेका कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित भए ।
महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) की पुजना गुरुङ निर्वाचित भइन् । महिला सदस्यहरुमा एमालेकै सविता चौधरी र अनिता नेपाल गोलाप्रथाबाट निर्वाचित भए । एक जना दलित वा अल्पसंख्यक सदस्यमा पनि एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित भइन् । उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् । निर्वाचनमा कुल १६ जनाको उम्मेदवारी परेको थियो ।

