विराटनगर । अदालत परिसरमै महिलाको शव फेला परेपछि मृत्यु वा हत्या के हो भन्ने विषयमा प्रहरी नै बिलखबन्द पर्यो ।
घटनास्थलमा अन्य केही प्रमाणहरु नभएका कारण घटनाको अनुसन्धान अगाडि कुन ढंगले अघि बढाउने भन्नेमा प्रहरीलाई सकस परेको थियो ।
प्रहरीले बनाएको योजनाअनुसार नै अनुसन्धान पनि अगाडि बढ्यो । अन्ततः ३ वर्षीय पिकूले प्रहरी अनुसन्धान टोलीलाई अपराधी नजिकसम्म पु¥याइ दियो । त्यसपछि मात्र यो घटना हत्या थियो भन्नेमा प्रहरीले निर्क्योल निकाल्यो ।
जिल्ला प्रहरी कार्यालय इलामले सोमबार उच्च अदालत इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी ४८ वर्षीय विमलाकुमारी पराजुलीको शव फेला परेपछि मिहीन ढंगले अनुसन्धान अगाडि बढाउने निर्णय लियो ।
घटनाको गुत्थी सुल्झाउन गम्भीर र सुक्ष्म ढंगले अध्ययन र अनुसन्धान अघि बढाउन उच्च प्रहरी अधिकृतले तालिम प्राप्त कुकुर परिचालन गर्ने निर्णय लिए । सोहीअनुरुप संघीय इकाई प्रहरी कार्यालय धरानको केनाइन शाखाको ३ वर्षीय पिकुलाई परिचालन गरियो । पिकुले घटनास्थलमा अन्य केही प्रमाणहरू नभए पनि चारैतिर सुँघ्दै गन्ध लिन थाल्यो ।
सोही आधारमा प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो पनि तय भयो । पिकुले बाटो पहिल्याउँदै घटनास्थलदेखि करिब दुई सय मिटर परसम्मको एउटा कोठासम्म पुगेर अपराधी भएको संकेत गरिदियो ।
महिला कर्मचारी पराजुलीको हत्यामा न्यायाधीशका बडीगार्ड असई युवराज बानियाँ नै संलग्न भएको हुन सक्ने संकेत पिकुले दिएपछि उनी पक्राउ परे ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले भने,“बानियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुुरु गरिसकेका छौं ।”
धनकुटा होलीखर्क–५ निवासी बानियाँ इलाम इजलासका १ नं मुख्यन्यायाधीश शिवनारायण यादवका बडी गार्ड हुन् ।
घटना भएको १२ घण्टापछि उनी प्रहरी नियन्त्रणमा परेका हुन् । पहिले घाँटी थिचेर हत्या गरेको र शव अदालत परिसरको झाडीमा लुकाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । ती कर्ममचारी कार्यालयकै पोसाकमा मृत फेला परेकी थिइन् ।
आपसी लेनदेन र अन्य सम्बन्धको विषयमा विवाद भएको वा अरु थप कारणहरु छन् भन्ने थप अनुसन्धान हुने प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।
बानियाँले घर निर्माण गर्दै आएको र दिएको रु २ लाख भन्दा बढी रकम महिलाले दिन नसक्दा हत्या गरेको उनले गरेको स्वीकार गरेको बताइएको छ ।
बानियाँ अदालत परिसरभित्रको क्वार्टरमा बस्दै आएका थिए । उनीहरुबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र बानियाँकै डेरामा बस्ने गरेको समेत खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरी बानियाँलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
असई बानियाँ २०७३ सालदेखि उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीश यादवको बडी गार्डको रूपमा कार्यरत थिए ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देवी पराजुली केही समय अघिदेखि उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत थिइन ।
अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनलाई प्रहरी सेवाबाट निलम्बन गरिएको छ ।