जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेङ्गु लक्षण देखिएको छ। स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना सुरु भएसँगै सङ्क्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो। सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेङ्गु परीक्षण गरिएको जानकारी दिए।
गत आर्थक वर्षमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये तीन जनाको मृत्यु भएको थियो। आर्थिक वर्षमा २०७५/७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र आव २०७४/७५ मा एक हजार २९१ जनाको परीक्षणमा एक जनाको मृत्यु हुनाका साथै ५८ जनामा सङ्क्रमण देखिएको थियो।
नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेङ्गु फेला परेको थियो। सन् २००६ मा तराई र भित्री मधेशमा देखिएको डेङ्गु सन् २००९ मा चितवनमा पहिलोपटक नौ जनामा देखिएको थियो। एक वर्षको अन्तरालमा सङ्क्रमण बढी देखिने गरेको जनाउँदै समयमा नै सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय तहहरुले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अब प्रत्यक्ष रुपमा नियन्त्रण गर्न काममा नै जुट्नुपर्ने समय आएको बताए। गाउँ र टोलटोलमा जनचेतना जगाउनुपर्ने उनको भनाइ छ।
डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गर्छ। यो खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा सयौँको सङ्ख्यामा फुल पार्दछ।
स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो। ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिरामी आउने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उनले बताए।(रासस)