खैरहनी । खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्करुपमा कृषि बिमा गर्न पाएका छन् । बिमा गरेबापत लाग्ने प्रिमियम रकम नगरपालिकाले नै उपलबध गराएको छ ।
चालु आर्थिक वर्ष ०७७/७८ बाट यो कार्यक्रम लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले कृषि बिमा गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख लालमणि चौधरीले बताए ।
बिमा कार्यक्रम ल्याएपछि पहिलो चरणमा १२ जना किसानले प्रिमियम रकम पाएका छन् । उनीहरुलाई प्रिमियम गरेबापत ४५ हजार रुपैयाँ उपलब्ध गराइएको नगरपालिकाका कृषि शाखाप्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालले बताए ।
तरकारी, फलफूल, खाद्यान्न आदि बालीहरुमा बिमा गर्दा संघीय सरकारबाट किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने व्यवस्था रहेकोमा खैरहनी नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्ने प्रिमियम शुल्कमा अनुदान दिएर निःशुल्क बिमा गर्न सक्ने व्यवस्था मिलाएको हो ।