भरतपुर– ६, गीतानगर बजारमा रहेको अरुणाेदय माध्यमिक विद्यालयमा आफ्नो स्वर्गीय बुबा र आमाको स्मृतिमा छोरी लिली लोहनीले १० लाख ५ रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेकी छन् । भरतपुर घर भई हाल काठमाडौं बस्दै आएकी लोहनीले स्वर्गीय बुबा जीवनाथ लोहनी र आमा गंगा लोहनीको स्मृतिमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुग्योस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेकी हुन् ।
कोषको ब्याजबाट आउने रकम विद्यालयले ‘स्वर्गीय जीवनाथ लोहनी एवं स्वर्गीय गंगा लोहनी स्मृति पुरस्कार’ नामबाट प्रत्येक वर्ष प्रदान गर्ने विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार स्वर्गीय लोहनी दम्पतीहरूले आफ्नो जीवनकालमा समेत यस विद्यालयलाई आर्थिक र भौतिक रूपमा सहयोग गर्दै आउनुभएको थियो ।
लिली लोहनी र उनको भतिज देभेन लोहनीले विद्यालयका अध्यक्ष रामचन्द्र आचार्य बिहीबार १० लाख पाँच रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । चेक लिँदै अध्यक्ष आचार्यले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्याउने प्रतिबद्धता जनाए । लोहनी परिवारको यसै क्षेत्रमा लेक ट्वान्टिथाउजेन्ट फार्म एन्ड रिट्रिट पनि छ ।