चितवन । गैँडाकोट–५ की सिर्जना सोती हिजोआज सौन्दर्य व्यवसायमा निकै व्यस्त छिन् । पछिल्लो समय यस पेशाप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको अवस्था छ । मूख्यतः यसै क्षेत्रमा काम गर्न चाहने सौन्दर्य व्यवसायी उत्पादन गर्नमै उनी व्यस्त छिन् ।
सिर्जना नारायणगढस्थित हङकङ बजारमा रहेको स्वस्ती व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका हुन् । उनले २०६५ सालदेखि सौन्दर्य व्यवसायलाई निरन्तरता दिँदै आएकी छन् ।
व्युटी सैलुनको भित्तामा टाँसिएको ह्वाइट बोर्ड, मार्कर, धागो, कैँची र सौन्दर्यका सामग्रीहरु उनको दैनिकी बिताउने साथी बनेका छन् । सौन्दर्य सामग्री साथीहरुले उनको चिनारीसमेत बनाइदिएको सोती बताउँछिन् ।

सोतीले विगत १४ वर्षदेखि यो व्यवसायमा लागेर आफूलाई सफल र परिचित बनाइसकेकी छन् । सौन्दर्यकर्मी, मेकप आर्टिस्टस तथा समाजसेवीको काम गर्दै आइरहेकी सोती सफल महिला उद्यमीको उदाहरण बनेकी छन् ।
सौन्दर्य व्यवसायमा लाग्नुअघि सोतीले गैँडाकोटको भृकुटी कागज कारखानामा सामान्य कर्मचारीको रुपमा काम गर्थिन् । सानैदेखि आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेकी उनले १७ वर्षको उमेरमै विवाह गरिन् । सोतीले विवाहपछि सौन्दर्य व्यवसायबाट भविष्य सुन्दर बनाउने सपनासहित सिप सिकेर काम सुरु गरिन् ।
सानै उमेरमा तीन छोरीकी आमा बनेकी कलिलो उमेरमा नै श्रीमान् गुमाउनु पर्यो । उनी भन्छिन् ‘श्रीमान्को मृत्युपछि मेरो जिन्दगीमा संघर्षको यात्रा सुरु भयो । तीन छोरीको पालनपोषण, शिक्षादीक्षा पक्कै पनि सहज थिएन । सौन्दर्य व्यवसायमा लागेको भएरै आज यो स्थान पाउन सफल भएँ ।’
सौन्दर्य व्यवसायमा लाग्नुअघि सोतीले गैँडाकोटको भृकुटी कागज कारखानामा सामान्य कर्मचारीको रुपमा काम गर्थिन् । सानैदेखि आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेकी उनले १७ वर्षको उमेरमै विवाह गरिन् । सोतीले विवाहपछि सौन्दर्य व्यवसायबाट भविष्य सुन्दर बनाउने सपनासहित सिप सिकेर काम सुरु गरिन् ।
सिर्जनाले व्यवसाय सुरु गर्दा यस ठाउँमा ब्युटी पार्लर र पार्लरको प्रयोग गर्नेको संख्या एकदमै न्यून थियो । उनी भन्छिन् ‘जुन बेला म यो क्षेत्रमा प्रवेश गरें, त्यतिबेला सौन्दर्य व्यवसायमा लाग्न त्यति सहज थिएन । नेपालमा ब्यूटीपार्लर (सौन्दर्यकला) भन्नेबित्तिकै नराम्रो नजरले हेरिन्थ्यो । छोरी–बुहारी नक्कली बनाउने पेसा हो भनेर पार्लर खोल्न दिइँदैनथ्यो ।’
मेहनेतकै कारण सोतीले युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित नेपालको पहिलो ब्युटिसियनको रुपमा सम्मानित पनि भएकी थिइन्।

पारिवारिक जिम्मेवारीको बोध र सन्तानको भविष्य सुन्दर बनाउने सपना, देखेर सौन्दर्य व्यवसायमा अहोरात्र खटिएकी सोतीले साँच्चिकै यही व्यवसायले नै जीवनलाई सुन्दर बनाउन सफल भएको उनी बताउँछिन् । उनी भन्छिन् ‘सौन्दर्य व्यवसायमा लागेपछि जीवनमा सफलताका रंगहरु थपिँदै गएका छन् ।’

सिर्जना नाम जस्तै नयाँ कुराहरुको सिर्जना गर्न रुचाउँछिन् । उनले ५० हजारको लगानीमा दुई वटा ऐना र कुर्सी राखेर व्यवसाय सुरु गरेकी थिइन् । अहिले उनको व्यवसायको लगानी १८ लाख माथि पुगेको उनी बताउँछिन् । यस व्यवसायमा श्रृङगारका सामग्रीको लागत बढी लाग्ने उनको भनाइ छ । उनले आफ्नो सबै खर्च कटाएर उनले मासिक ६० देखि ७० हजार सजिलै बचाउन सकेकी छन् ।
सोतीले अहिलेसम्म २ हजारभन्दा बढी सौन्दर्यकर्मी उत्पादन गरिसकेकी छन् । उनले तालिम दिएका ६५ प्रतिशत महिलाहरु अहिले स्वरोजगार बनेर आफ्नै व्यवसाय चलाएका छन् । सोतीले शाखा विस्तार गरी नारायणगढबाट समेत थप सेवा दिँदै आएकी छन् ।

आफ्नो व्यवसाय, संघ संस्थाका कामसँगै समाजसेवामा समेत सक्रिय रहेकी सोतीले जीवनमा आफूले भोगेका अनेकौँ पीडाहरु सम्झिँदै उनले दुःखी र असहाय महिलाका लागि निःशुल्क सीप सिकाएर उद्धारकर्तासमेत बनेकी छन् । उनी भन्छिन् ‘अझै पनि कोही महिला दिदीबहिनीहरु साँच्चि नै समस्याको चपेटामा परेका एकल, द्वन्द्वपीडित र हिंसामा परेका हुनुहुन्छ भने म निःशुल्क रुपमा सिप सिकाएर आत्मनिर्भरको बाटो देखाउने प्रयास गर्नेछु ।’

पछिल्लो समय सौन्दर्य पेशाले समाजमा प्रत्यक्ष प्रभाव पारेको छ किनभने यस क्षेत्रमा आबद्ध सिर्जना जस्ता धेरै सौन्दर्कर्मीहरुले आफूलाई सक्षम उद्यमशील र व्यवसायी बन्ने अवसर प्राप्त गरेका छन् ।
यस पेशाले महिलाहरुलाई स्वाबलम्बी र आत्मनिर्भर बनाउनमात्रै नभएर मुलुकको आर्थिक समृद्धिको लागि टेवा दिन सौन्दर्य व्यवसायीको ठूलो भूमिका रहेको छ ।
सरकारले बिलासिताको वर्गमा सौन्दर्य सामग्री आयातमा कर धेरै र कच्चा पदार्थ आयातमा सहजीकरण नहुँदा धेरै व्यवसायी विस्थापित हुनुपर्ने सम्भावना रहेको भन्दै यस्ता खालका समस्याहरुमा सरकारको ध्यान जान सके सौन्दर्य व्यवसायले आर्थिक भार कम गर्न सक्ने सोती बताउँछिन् ।

