चितवन । पौडी खेल्ने क्रममा डुबेर माडीमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका–६ स्थित रिउ खोलामा पौडी खेल्ने क्रममा डुबेर २१ वर्षीय हिक्मत शाहीको मृत्यु भएको हो ।
हुम्लाको खार्पुनाथ गाउँपालिका घर भई माडीको दिवाकर प्राविधिक शिक्षालयमा अध्ययनरत शाहीको रिउ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पौडी खेल्न शाहीसहित ६ जना रिउ खोलामा पुगेका थिए । अन्य ५ जना सकुशल रहेको थापाले बताए ।
खोलामा डुबेर बेपत्ता भएका शाहीलाई स्थानीय र प्रहरीसहितको टोलीले दिउँसो १ बजे माडी–३ स्थित रिउ खोलामा मृत अवस्थामा फेला पारेको हो ।