चितवन, असार २४ । केही दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण माडी क्षेत्रका घर डुबानमा परेका छन भने विद्युत र सडक अवरुद्ध भएको छ । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार
माडीका माडी नगरपालिका–१, ३, ४, ६ र ७ का १६८ घर डुवानमा परेका छन्। डुबान प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
जसअनुसार माडी नगरपालिका–१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ। अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ। निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन समेत अवरुद्ध छ।
बाढीको बहाब बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।