चितवन। सुजिता मृत्यु घटनामा हालसम्म शुन्य नतिजा हातपरेको चितवन प्रहरीले जनाएको छ । आज कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनालाई भ्रमित, उत्तेजित र खलल पुरयाउने समुहका कारण प्रहरीले हालसम्म घटनाको क्लु भेट्टाउन समस्या भएको बताएको हो । सुजिता हराएको २ हप्ता वितिसक्दा र मृत फेला परेको ४ दिनसम्म पनि कुनै प्रगति गर्न नसकिएको प्रहरीले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मृत फेला परेको ४ दिनसम्म पनि प्रहरीले उल्लेखनीय प्रगति गर्न नसकिएको बताए । ‘प्रहरीले अनुसन्धान गरिरहेको छ । तर अभियान्ता र घटनालाई अतिरञ्जित बनाउने समुहका कारण अनुसन्धानलाई बाधा पुगेको छ ।’ प्रहरी उपरीक्षक अधिकारीले भने । हाल सुजिताका परिवार, आफन्त निकट व्यक्तिहरु संँग घटनाबारे फरक फरक तरीकाले सोधपुछ भईरहेको उनले जानकारी दिए । ‘घटनाको अनेक डाईमेन्सन हुन्छन , तर घटनाको बिषयमा भन्न मिल्ने अहिलेसम्म केही त्यस्तो प्रगति भएका छैन ।’ अधिकारीले भने ।
परिवार र आफन्त अनुसन्धानमा सहयोग गर्न तयार भएपनि त्यस्ता समुहका अनावश्यक हल्ला , अड्कल अनुमानको भरमा घटनालाई अन्तै मोड्ने काम भएको उनको भनाई थियो ।
बिशेषगरी काठमाडौंबाट अभियान्ताको नाममा विभिन्न व्यक्ति समुहहरुले ब्यानर र पर्चा प्रिन्ट गरी भीड जम्मा गर्ने , प्रर्दशन गर्ने प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने जस्ता जस्ता क्रियाकलापले अनुसन्धानमा थप कठिनाई भएको अधिकारीले बताए ।
‘काठमाडौंबाट प्लेन चढेर अभियान्ता आउने , युट्यबर आउने , रात कुनै गाउँमा गएर बास बस्ने र समुह खडा गर्ने जस्ता प्रवृत्तिले अनुसन्धानमा असर पुग्यो ।’अधिकारीले भने । अनुसन्धानमा खटिनुपर्ने प्रहरी अधिकारी अहिले कफ्र्यु व्यवस्थापनमा खट्नु परेको उनको भनाई थियो । अपहरणमा परेकी सुजिताले एउटै व्यत्तिलाई ६ पटकसम्म कल गर्नु, पट्टि बाधिएको छ भन्नु, मेसेज गर्नु, मोबाईलमा इन्टरनेट अन हुनु जस्ता बिषयले थप शशंकित बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी निरन्तर खटिएको बताउंँदै उनले प्रहरीले दिएको आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरे ।
सुजिताको असार ११ गते अपहरणमा परेको भनेर प्रहरीलाई जानकारी आएको थियो । परिवारजनले प्रहरीलाई घटनाको बारे जानकारी दिंँदा पनि प्रहरीले सक्रियता नदेखाएको कारण सुजिताले अनाहकमा ज्यान गुमाउनुपरेको स्थानीयको आरोप छ । मृत फेला परेको स्थानीय ब्रह्म सामुदायिक वनमा हाल प्रहरीले माउण्टेन ड्युको बोतलमा धानमा छर्ने बिष, झोला , केही खुद्रा पैसा , सिम नभएको मोबाइल फेला पारेपनि अन्य थप केही फेला पार्न सकेको छैन । जसका कारण मृत फेला परेको घटनास्थलनै मुख्य स्थल हो वा होइन भन्ने बिषयनै अन्यौल छ । सुजिताको शबको परीक्षण काठमाडौंमा गरिएनि थप यसबाट केही खुलेको छैन । भिसेरा रिपोर्ट आएपछि केही खुल्न सक्ने प्रहरीको अपेक्षा छ ।