काठमाडौं । राजस्व अनुसन्धान विभागले चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरुको मिलेमतोमा ९ करोड रुपैयाँ बढीको राजस्व छली भएको खुलेको छ । अनुसन्धानमा करोडौं रुपैयाँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार कैफियत गरेर ९ करोड २७ लाख ३७ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो ।
विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरीद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत राजस्व चुहावट गरेको जानकारी दिएको छ ।