चितवन । अघिल्लो साताभन्दा थप खुकुलो गर्दै चितवनमा एक साता निशेधाज्ञा थप गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई असार ३१ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरेको हो । पछिल्लो समय संक्रमणदर न्यून देखिएपनि जोखिम भने उत्तिकै रहेको प्रशासनको निष्कर्ष छ ।
निषेधाज्ञा थप भएपनि केही क्षेत्रमा खुकुलो गरिएको छ । अब प्रशासनले पूर्व निर्धारित परीक्षाहरू सञ्चालन गर्न दिने भएको छ । तोकिएको मापदण्ड पूरा गरी पूर्व निर्धारित परीक्षाहरू सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । तर, २५ जनाभन्दा धेरै विद्यार्थीहरू सहभागी नहुनेगरी परीक्षा सञ्चालन गर्नुपर्ने छ । एकै दिनमा २५ जनाभन्दा बढी विद्यार्थी सहभागी गराउनु परे छुट्टाछुट्टै सिफ्ट सञ्चालन गर्नुपर्ने छ ।
शुक्रबारदेखि स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । शुक्रबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको हो । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सार्वजनिक सवारी साधन चल्न पाउनेछन् ।
स्वास्थ्य मापदण्ड अनुसार होटल र लज पनि खोल्न पाइने
प्रशासनले शुक्रबारबाट होटल तथा खाजा घरहरू टेक अवे र होमडेलिभरी सेवा दिनेगरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । होटल तथा लजहरू स्वास्थ्य मापदण्ड पालना गरी कुल कोठाको एक तिहाइ संख्या नबढ्नेगरी सञ्चालन गर्न पाइने भएको छ ।
यस्तै अब बजार दैनिक ८ घण्टा खोल्न पाइने भएको छ । प्रशासनले शुक्रबारदेखि इलेक्ट्रिल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटारपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइने भएको छ ।
यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफुल, दुध, माछा मासु, औषधी, ग्याँस, निर्माण सामाग्री सम्बन्धी पसल तथा पुस्तक पसलमा पनि लगाएको समय सीमा हटाइएको छ । अब यि पसलहरू दैनिक खोल्न पाइनेछ ।