भरतपुर।नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ ।
यद्यपि पहिरो र ढुंगा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा १ हप्तादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
पछिल्लो पटक सोमवार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । बुधवार बिहान साढे ५ बजेदेखि सेतीदोभान लगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिराले सयौं सवारीसाधन रोकिएका छन् । सवारीसाधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ ।