चितवन। भरतपुर महानगरपालिका ७ कृष्णपुरमा गएराति अज्ञात समुहको आक्रमणबाट मृत्यु भएका नेपाली कांग्रेस चितवनका युवा नेता तथा बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को घटना प्रति कांग्रेस चितवनले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको बताएका छन्।
घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकाय संग जोडदार माग गर्दछौ । अन्यथा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मा प्रशासन हुने पनि बिज्ञप्तिमा उल्लेख छ ।
हिजो (बैशाख २५ गते) साँझ साढे सात बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समुहबाट धारिलो हतियार प्रहार गरि परियारको हत्या गरीएको थियो। छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।


