चितवन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनका कांग्रेसका कार्यकर्ताहरुले पीर बिसानउने ठाउँ नै नपाएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेस पार्टी सिध्याउन लागेको बताए । नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेता गायम प्रकाश सपुतको गीत सम्झदै भने, ‘चितवनका कांग्रेसले पीर बिसाउने ठाउँ नै पाएका छैनन् ।’
कांग्रेसका कार्यकर्ताप्रति सहानुभूतिमात्र प्रकट गरेनन् । उनले भने, ‘कहिलेसम्म हँसियाहथौडामा भोट हाल्ने, कहिलेसम्म अर्कालाई बोकिरहने ? जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन कति रोएको होला भन्दै कांग्रेसका कार्यकर्तामाथि उनले पटकपटक सहानुभूति प्रकट गरे । कांग्रेसका कार्यकर्ताको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा समाहित आउन आग्रह गरे ।
के साँच्चै कांग्रेस कार्यकर्ताको मन रोएकै हो त ? गठबन्धन बन्दैमा भरतपुर महानगरमा मेयरमा रेनु दाहालले सहयोग गर्दैमा कांग्रेसका कार्यकर्ताहरुले पीर बिसाउने ठाउँ नै नपाएका हुन् ?
उपप्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारी गठबन्धले कांग्रेस झन बलियो भएको बताए । उनले भने, ‘पाँच दलिय गठबन्धन समग्र भरतपुर महानगरपालिकाको बिकास र सुसाशन कायम गर्ने संकल्पसहित चुनावी मैदानमा होमिएको छ, झन् बलियो बनेको छ ।’ कार्यक्रममा नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले गठबन्धलाई टुटाउन सकिन्छ कि, मतदाताहरूलाई भ्रमित पार्न सकिन्छ कि, भनेर गरिएका सम्पूर्ण भ्रम केही दिन यता समाप्त भएको बताए ।
उनले नेपाली काँग्रेसको संथागत निर्णय नमानी बागी बिद्रोही उम्मेद्वारी दिनेहरु काँग्रेस त रहेन रहेन, सच्चा प्रजातन्त्रवादी नै हुन नसक्ने टिप्पणी गरे । उनले भने, ‘बाटो बिराएका सबैलाई मूलधारमा फर्कन आग्रह गर्छु र गठबन्धनका साझा उमेदवारलाई जिताउन सबै लाग्नुस ।’
चितवनका सभापति राजेश्वर खनालले गठबन्धनको आवश्यकता र औचित्य बारे प्रस्ट पारेका थिए । उनले पाँच दलीय गठबन्धन भित्र रहेर साझा उम्मेद्वार विरुद्ध बोल्ने र चलखेल गर्ने अधिकार कसैलाई पनि नभएको बताएका थिए । उनले गठबन्धनले कसैलाई पीर नपरेको अझ बलियो भएर गठबन्धन अघि बढेको बताए ।

