काठमाडौं । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको हत्या वा आत्महत्या प्रहरी अनुसन्धान जारी छ । यही असार ११ गते बेपत्ता भएकी २३ वर्षीया सुजिताको शव गएको आइतबार स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको थियो ।
आफन्तले सुजिताको हत्या भएको बताइरहेका छन् । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय चितवनको टोली सक्रिय छ ।
सुजिताको शव भेटिएको स्थानबाट विषादीको बट्टा भेटिएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ । प्रहरीले सुजिताको मोबाइल फेला पार्न सकेको छैन ।
एक उच्च प्रहरी अधिकारीले भने, “मोबाइल भेटिएपछि थप केही कुरा खुल्न सक्छ । मोबाइल खोजिरहेका छौँ । यसबाहेक शंकास्पदमाथि निगरानी पनि सुरु गरेका छौँ ।”
प्रहरीले समेत पोस्टमार्टम रिपोर्ट कुरिरहेको छ । रिपोर्टपछि अनुसन्धानका लागि ‘क्लु’ मिल्ने अधिकारीहरु बताउँछन् । प्रहरीले अहिले नै हत्या वा आत्महत्या यकिन गर्न सकेको छैन । प्रहरी अधिकारीहरुका अनुसार विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भने जारी छ ।
असार १० गते साँझ भाइ र दिदीसँगै रहेकी सुजाता आइतबार घरबाट निस्किएको आफन्तको भनाइ छ । उनी बिहान वा रातिको समयमा घरबाट निस्किएको भन्नेबारे परिवारकै सदस्यसमेत स्पष्ट नभएको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
सुजिताले आइतबार बिहान साढे ६ बजेदेखि मोबाइलबाट आफ्नी दिदीलाई फोन गरेर आफूलाई कसैले अपहरण गर्न लागेको बताएको आफन्तले प्रहरीलाई बताएका छन् । सुजिताले दिदीलाई ‘दुई महिला र एक पुरुषले गाडीमा हालेर लैजाँदै छन्’ भनेर फोन गरेको परिवारले प्रहरीलाई बताएका छन् ।
त्यसपछि दिउँसो १२ बजेर ४५ मिनेटमा सुजिताकै मोबाइलबाट परिवारका सदस्यलाई अन्तिम ‘म्यासेज’ ‘पूर्वतिर’ लेखेर आएको थियो । तर, म्यासेजको लोकेसन र उनको शव भेटिएको स्थानको लोकेसन भने ‘म्याच’ नभएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
सुजिताले आफूलाई अपरहण गरेको बताए पनि परिवारका सदस्यलाई भने कसैले फिरौती माग वा अन्य धम्की नदिएको पाइएको छ । जसले घटनालाई शंकास्पद बनाएको छ । प्रहरीले सुजिताको फेसबुक, नम्बरलगायत प्राविधिक पक्षको समेत विश्लेषण गरिरहेको छ ।