चितवन । नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिकाको मेयर पदकी उम्मेदवार विमला दुवाडीले गर्र्न सक्नेमात्र काम बोल्ने, तर झुटो आश्वासन नबाँड्ने प्रतिबद्धता गरेकी छन् । उनले रत्ननगर नगरपालिकाले पहिलो महिला मेयर पाउन लागेको दाबी गरिन् ।
रत्ननगरको वडा नम्बर ७ मा भएको एमालेको घरदैलो कार्यक्रमको कोणसभामा दुवाडीले रत्ननगरमा पहिलो पटक महिला मेयर उमेदवार बन्दै गरेको कारणले नगरवासी उत्साहित भएको बताइन् । दुवाडीले उपमेयर हुँदा महिला स्वास्थ्य, उद्यमशीलता स्वरोजगार तथा न्यायिक मामलामा धेरै काम गरेको दावी गर्दै अब बाँकी रहेको अधुरा काम आफू मेयर भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘गर्न सक्ने काम मात्र बोल्छु, नसक्ने काम गर्छु भनेर झुटो आश्वासन दिने काम गर्दिनँ, मेयर भएपछि हरेक ६÷६ महिनामा प्रत्येक वडामै गएर महिलाहरुको निःशुल्क पाठेघर र स्तन क्यान्सरको परीक्षण गर्ने व्यवस्था गर्छु’ दुवाडीले भने, ‘मेयरमा पुरुष हुँदा महिलाको वास्तविक समस्या बुझ्न कठिन हुन्छ, म मेयर भएपछि महिलाहरुलाई भएको हरेक समस्यालाई विशेष ख्याल गरेर समाधान गर्छु ।’

