भरतपुर। २०४४ सालको सेक्टर काण्ड घट्दा अहिलेका ‘प्रचण्ड’ त्यतिबेला छविलाल अर्थात पुष्पकमल दाहाल जम्मा ३४ बर्षका थिए । सेक्टर काण्डपछि नेकपा मशालका महामन्त्री बनेका प्रचण्डले नेकपा मशालपछि २०७८ सालसम्म आईपुग्दा आधा दर्जन पार्टीमा मुख्य भएर नेतृत्व गरे ।
यसबीचमा कति नेतालाई उनले छाडे र कति नेताले उनलाई छाडे त ? यो रोचक विषय हुनसक्छ ।
यतिबेला नेकपा माओवादी केन्दका अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०४७ सालमा नेकपा एकता केन्द्रका महामन्त्री थिए । लगत्तै २०५१ सालमा उनी नेकपा (माओवादी)को महामन्त्री भए । नेकपा माओवादीले २०५२ साल फागुन १ देखि शुरु गरेको १० वर्षे जनयुद्धकै बीचमा २०५७ सालदेखि उनी माओवादीको अध्यक्ष जनमुक्ति सेनाको सुप्रिमो बने ।
उनै प्रचण्ड २०६५ सालमा एकीकृत नेकपा माओवादी अर्थात (एमाओवादी) का अध्यक्ष भए । २०६९ सालमा हेटौंडा महाधिवेशनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका उनी २०७५ जेठ ३ गतेपछि नेकपाको अध्यक्ष भए ।
केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेकपा पनि २०७७ सम्म मात्रै कायम रह्यो । सर्वोच्च अदालतले नेकपा भन्ने पार्टी ऋषि कट्टेलको नाममा रहेको भन्दै एमाले र माओवादीलाई नेकपाबाट अलग गराई आ–आफ्नै पार्टीमा कायम गरिदिएपछि प्रचण्ड पुनः नेकपा माओवादी केन्द्रका अध्यक्ष छन् ।
एमालेसँग पार्टी एकता भएपछी प्रचण्डले ठट्यौली पारामा एउटा सत्य कुरा बोलेका थिए । उनले भनेका थिए–‘मलाई पार्टी बनेपछि विघटन गराई हाल्ने जोसजाँगर आउँछ, मैले विगतमा मशाल विघटन गरें, एकता केन्द्र बिघटन गरे, नेकपा माओवादी विघटन गरें, एकीकृत माओवादी विघटन गरें र अहिले आएर एमाले र माओवादी दुवै विघटन गरें ।’
प्रचण्डको यति लामो राजनितीक जीवनमा पार्टी मात्रै विघटन र टुट–फुट भएनन् कि धेरै नेतासँग उनको सम्बन्ध पनि टुटेर गयो र आफ्नै सहयोद्धासँग सम्बन्धविच्छेद पनि भयो । राजनीतिको सुरुवाती चरणमा मोहनविक्रम सिंहसँगको सम्बन्ध तोडेका प्रचण्डले २०५१ सालपछि नरबहादुर कर्माचार्य, निर्मल लामा, निरञ्जन गोविन्द वैद्यलाई छाडे ।
जनयुद्ध सुरु गर्ने समयमा प्रचण्डसँग नेकपा संस्थापक मध्येका एक नरबहादुर कर्माचार्य, निर्मल लामा, निरञ्जन गोविन्द मात्रै होईन अमिक शेरचन, लिलामणि पोख्रेल, नारायणकाजी श्रेष्ठ, विष्णुबहादुर तामाङ, कमानसिंह लामा, कमलप्रसाद चौलागाईंसँग पनि सम्बन्धविच्छेद भयो ।
२०५२ मा जनयुद्ध सुरु भएपछि युद्धकै समयमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी छाड्नेहरु देखिए । उनीहरुले जनयुद्धलाई मन नपराएर भन्दा पनि प्रचण्डको कार्यशैलीको विरोध गर्दै जनयुद्ध छाडेका थिए । माओवादीले युद्धका भगौडा भन्ने गरेको रविन्द्र श्रेष्ठ (हाल एमालेमा), मुमाराम खनाल (केही समय साझा पार्टीमा र हाल स्वतन्त्र), मणि थापा (हाल ओली नेतृत्वको एमाले स्थायी समिति सदस्य)ले प्रचण्डलाई छाडेका थिए ।
२०६३ सालको शान्ति प्रक्रियापछि २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेको माओवादीबाट २०६९ सालमा धेरै नेताले प्रचण्डको साथ छाडेर गए । पार्टीका वरिष्ठ नेताहरु मोहन वैद्य ‘किरण’, सिपी गजुरेल ‘गौरव’, रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हरिभक्त कँडेल ‘प्रतिक’, देव गुरुङ ‘कान्छाबहादुर’, पम्फा भुषाल, धमेन्द्र बाFस्तोलालगायत नेताले प्रचण्डको साथ छाडेर गए । ती मध्य थापा, गुरुङ र भुषाल पुनः प्रचण्डको पार्टीमा फर्के । हाल गुरुङ र भूषाल प्रचण्डसँग भए पनि थापा अहिले एमालेमा पुगेका छन् ।
त्यसलगत्तै नेपालको संविधान २०७२ जारी भएपछि अर्का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले पनि प्रचण्डको साथ छाडे । भट्टराईसँगै हिसिला यमी, देवेन्द्र पौडेल, वामदेव क्षेत्री, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, देवेन्द्र पराजुली, कुमार पौडेल, कल्पना धमलालगायत जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेका नेताहरुले पनि प्रचण्डको साथ छाडे । अहिले पौडेल, क्षेत्री, धमला र पराजुली पुनः प्रचण्डसँगै सहकार्य गर्दैछन् ।
पछिल्लो समय प्रचण्डलाई अर्का प्रभावशाली नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, गौरीशंकर थारु, मणि थापा, दावा तामाङ लगायतले पनि छाडे । माओवादी पार्टीमा प्रचण्डको कार्यशैलीलाई मन नपराएका उनिहरुले एमालेमा केपी ओलीको साथ रोजे ।
यसरी कुनै समयका ‘सुप्रिमो’ प्रचण्ड अहिले सहयोद्धाको साथविहिन अवस्थामा एमालेको माधव नेपाल समूहको साथ खोज्दै राजनीतिक यात्रामा निरन्तर लागिरहेका छन् ।साझापोस्टबाट