चितवन । आज १३६ औं विश्व मजदुर दिवस । देशभर विभिन्न राजनीतिक दलमा आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै श्रमिक दिवस मनाइरहँदा चितवनका वास्तविक मजदुरहरु भने यस विषयमा अनभिज्ञ छन् ।
दैनिक ज्यालादारीमा काम गरेर खाने वास्तविक मजदुरहरुलाई आजको दिन पनि यो दिवसले छुन सकेको छैन ।
अहिले निर्वाचनको माहोल तातिरहेको छ । उमेदवारहरु भोट माग्दै चिल्ला भाषण गर्दै स्थानीयको ढोकासम्म पुग्न थालेका छन् । वास्तविक श्रमिकहरुको पीडा भने वर्षेनि दर्दनाक बन्दै गएको छ । भरतपुर महानगरपालिका १० हाकिमचोकका ५९ वर्षीया आइतराम कुमाल यसबारे अनविज्ञ छन् । उनी सदाझैं आज पनि बिहानै काममा निस्किए । उनी बिहान ७ बजे हाकिमचोककै एक होटलमा काम गर्न पुगेका थिए ।
शारीरिक अवस्था कमजोर भएका वृद्ध कुमालले त्यही होटलमा काम गरी आफ्नो दैनिकी गुजार्दै आएका छन् । कुमालले होटलमै काम गरी एक श्रीमती र छोराका लागि बिहान बेलुका बल्लतल्ल छाक टार्ने गरेको उनी बताउँछन् । होटलमा काम सुरु गर्नुअघि कुमालले निर्माणका क्षेत्रमा काम गर्थे । तीन वर्षअघि कोरोना भाइरसको महामारीका कारण उनले निर्माण क्षेत्रमा गर्दै गरेको काम बन्द भयो । त्यसपछि उनले होटलमा काम सुरु गरेका थिए ।

बिहानदेखि काममा आउने कुमाल रात नपरी डेरामा जान पाउँदैनन् । दिनको उज्यालोमा उनले आफ्नो कोठा नियाल्न समेत पाएका छैनन् । आज अन्तर्राष्ट्रियस्तरमै मजदुर दिवस मनाइएको छ । गाउँ गाउँमा चुनावी माहोलले छोएको छ । तर, कुमाललाई अत्तोपत्तो छैन, होस् पनि कसरी एकदिन काम गरेन भने साँझ कसरी छाक टार्ने भन्ने पीडाले सताउँछ । कुमालको न त आफ्नो कुनै स्थायी बास छ । न परिवारमा अन्य कसैको साहारा न त आस । ‘गरिबलाई जे दिवस भए पनि के काम ?’ उनी भन्छन् ।
चुनावका बेला भोटका लागि आश्वासन दिएर जानेहरुलाई कुमाल भन्छन् ‘जुन जोगी आए पनि श्रमिक चुनावका भोट, बने अरू बेला चोट पाए !’ यता भरतपुरको ६ लेन सडकको काममा पनि केही श्रमिकहरु व्यस्त छन् । सडकको छेउछाउमा युवाहरुको एक समुह बिहानैदेखि नाली खन्दै थिए । उनीहरुलाई आज श्रमिकहरुको विशेष दिन हो भन्ने थाहा भए पनि यसको महत्व भने नभएको बताउँछन् ।
चुनावका बेला भोटका लागि आश्वासन दिएर जानेहरुलाई कुमाल भन्छन् ‘जुन जोगी आए पनि श्रमिक चुनावका भोट, बने अरू बेला चोट पाए !’ यता भरतपुरको ६ लेन सडकको काममा पनि केही श्रमिकहरु व्यस्त छन् । सडकको छेउछाउमा युवाहरुको एक समुह बिहानैदेखि नाली खन्दै थिए । उनीहरुलाई आज श्रमिकहरुको विशेष दिन हो भन्ने थाहा भए पनि यसको महत्व भने नभएको बताउँछन् ।
उनीहरु श्रमिक दिवसको दिन पनि नियमित दैनिकीकै शैलीमा काम गरिरहेका छन् । यिनीहरु मध्ये धेरैलाई मजदुर दिवस केका लागि भन्ने नै थाहा छैन । सोही समुहका २५ वर्षीय अज्मद खान परिवारका अन्य आवश्यकता पुरा गर्न नसके पनि दुई छाक खाना आनन्दले खुवाउन सकूँ भन्दै गृहजिल्ला सप्तरी छोडेर कामको सिलसिलामा चितवन आएका थिए ।

बिहान सात बजेदेखि सडकमा काममा खटिएका खानले बेलुकासम्म काम गर्दा ७०० रुपैयाँ कमाउँछन् । उनी भन्छन् ‘घर छोडेर कामकै लागि यति टाढा आएको छु । एकदिन खाली बस्यो भने २ दिनसम्म मुस्किल हुने अवस्था आउँछ । अर्को कुरा हामीलाई दिवस आजको दिन के हो भन्ने पनि थाहा छैन । बिदा माग्न जाउँ भने पाएको काम नै जाला भन्ने डर छ ।’
सरकारले आजको दिनलाई सरकारी बिदा दिए पनि आफ्नै पाखुरीको भरमा गुजार चलाउने मजदुरलाई त्यो सरकारी बिदा समेत थाहा छैन । न त उनी बिदा पाउने नै भए पनि बिदा बस्न सक्छन् । सडक निर्माणकै काममा सप्तरीबाट चितवन आएका ५२ वर्षीय राजधर इशरको हालत पनि उस्तै छ । बिरामी श्रीमतीको उपचार तथा पालनपोषणका लागि ज्यालादारी काममा हिँडेका इशर दैनिक छ सात सय कमाउनकै लागि चितवनमा खटिएका छन् । सरकारले नेपाली जनता भोकै मर्नुपर्ने बाध्यता आउन दिन्न भने पनि अब भने कोही प्रति विश्वास नरहेको उनी बताउँछन् । सरकारले श्रमिक मजदुरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः सबै मजदुर असन्तुष्ट छन् ।

