काठमाडौं । काठमाण्डु पब्लिकेशनले लेखक तथा पत्रकार अनन्त वाग्ले लिखित उपन्यास ‘कदम’ प्रकाशनमा ल्याएको छ । सात वर्षदेखि साहित्यिक पुस्तक प्रकाशनमा क्रियाशील प्रकाशन संस्थाले लोपोन्मुख फिरन्ते राउटे समुदायका बारेमा लेखिएको अनन्तको उपन्यास बजारमा ल्याएको हो ।
खासगरी बाल–साहित्य र किशोर–साहित्यमा लेखिएका पुस्तक प्रकाशित गर्दै आएको पब्लिकेशनले मूल प्रवाहको उपन्यास पहिलो पटक प्रकाशनमा ल्याएको विज्ञप्ति मार्फत् जनाएको छ ।
‘जंगलका राजा’ भनेर आफूहरूलाई चिनाउने राउटे समुदायका बारेमा थुप्रै गैरआख्यान पुस्तक प्रकाशित भए पनि यसबारे सम्भवतः यो पहिलो आख्यान भएको विज्ञप्तिमा उल्लेख छ ।
राउटे समुदाय कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यानलगायत जिल्लामा अवस्थित जंगलमा ठाउँ सर्दै बस्ने गरेका छन् । स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुख–दुःख, परिवार, जनजीवीका, प्रेम र प्रणयलगायत अनेक पाटाहरूलाई केलाउँदै लामो समय लिएर लेखक वाग्लेले यो आख्यान तयार पारेका हुन् ।
नेपाली साहित्यमा ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेका वाग्लेको यो पहिलो उपन्यास हो ।
३१६ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपैयाँ रहेको छ । पुस्तकबाट प्राप्त लेखकस्वको अंश राउटे समुदायको हितमा खर्चने लेखकले पुस्तकमै घोषणा गरेको पनि प्रभाकर जोशीद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।