ओट्टावा । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ ।
क्यानडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ । यसैकारण ती नागरिकको मृत्यु भएको हो ।
यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसलाई तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिक परेका बताइएको छ ।
क्यानडाको खासगरी ब्रिटिस कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
गएको मंगलबार मात्र क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ । क्यानडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको बताइएको छ ।
अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएको बताइएको छ ।
तातो हावाका कारण ब्रिटिस कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ । ब्रिटिस कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम मापन भएको छ । उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिस बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन ।
क्यानडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको बताइएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाइ छ । रासस/सिन्ह्वा