काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति घोषणा भएसँगै पार्टीको आगामी नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवासहित आधा दर्जन नेताले दाबी गरेका छन् । आगामी भदौमा महाधिवेशन गर्ने गरी काँग्रेसले तयारी थालेको छ । यसपटक काँग्रेसको नेतृत्व दोस्रो पुस्तामा ल्याउन पार्टीभित्र बहस समेत सुरु भएको छ ।
पहिलो चरणमा पार्टीको क्रियाशील सदस्यको संख्या किटान गर्ने र महाधिवेशनको कार्यतालिका अनुसार अगाडि बढ्ने भनिएपनि क्रियाशील सदस्यको संख्यामै विवाद कायम छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यतामा देउवा पक्षले मनोमानी गरेको आरोप लगाउँदै आएको छ । काँग्रेसले झण्डै १० लाख क्रियाशील पार्टी सदस्य बनाउने भन्दै देशव्यापी अभियान चलाएको थियो ।
यता, महाधिवेशनको मिति नजिकिएसँगै जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वमा दाबी गर्नेको संख्या बढ्न थालको छ । अधिकांश जिल्लामा आधा दर्जनभन्दा बढीले सभापति दाबी गर्न थालेका छन् भने केन्द्रीय सभापतिको लागि पनि वर्तमान सभापति देउवा, वरिष्ठ नेता पौडेलसहित आधा दर्जन बढीले दाबी गरेका छन् ।
देउवा, पौडेलसँगै उपसभापति विमलेन्द्र निधी, डा.शेखर कोइराला, महामन्त्री डा.शशांक कोईराला, पूर्व उपसभापति प्रकाशमानसिंह श्रेष्ठ, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, डा.रामशरण महत र अर्जुननरसिंह केसी सभापतिको दौडमा छन् ।
काँग्रेसमा देउवा, पौडेल र कोइरालागुट बाहेक अर्को गुट पनि अस्तित्वमा छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको यो गुट १३औं महाधिवेशनमा पनि सभापति र महामन्त्री सहित छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रेको थियो । यसपटक सिटौला आफैंले सभापति उठ्ने वा आफ्नो गुटका युवा नेताहरुलाई सभापतिबाहेकको मुख्य पदमा बार्गेनिङ्ग गर्ने भन्ने दोधारमा छन् । यदि सिटौला आफु सभापति नउठ्ने भएमा उनले गगन थापा सहितको टिम बनाएर देउवा, पौडल र कोइराला गुटसँग बार्गेनिङ्ग गर्ने निश्चित छ ।
नेपाली काँग्रेसमा यसपटक देउवा र पौडेलभन्दा फरक व्यक्तिलाई सभापति बनाउनुपर्ने भन्दै युवा नेताहरुले लबिङ सुरु गरेका छन् । चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरे, कल्याण गुरुङ, गोविन्द भट्टराई लगायत नेताहरु पदाधिकारीमा दाबीसहित नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् । उनीहरुले विमलेन्द्र निधी, डा.शेखर कोइराला, डा.शशांक कोइराला, प्रकाशमानसिंहमध्ये एक जनालाई सभापति बनाउनुपर्ने विचार राखेका छन् ।
यद्यपीियुवा नेताहरु समेत पार्टीभित्रको गुट-उपगुटमा खुलेका कारण सभापतिमा कसलाई अगाडि सार्ने भन्ने द्विविधामा देखिन्छन् । उनीहरुमा पनि सभापति बाहेकको मुख्य पदमा आफुलाई सुरक्षीत गराउनुपर्ने स्वार्थ जोडिएको काँग्रेस कार्यकर्ताको बुझाई छ ।
यता पार्टी सभापति देउवाले चाहिँ १४औं महाधिवेशनमा आफु फेरि सभापतिको उम्मेद्वार हुने कुरा निश्चितजस्तै गरिसकेका छन् । उनले आफु निकट नेता कार्यकर्ता बाहेक पार्टीका सबैजसो प्रदेश र जिल्लामा पनि सभापति उठ्न लागेको जनाउ दिइसकेको उनीपक्षीय केन्द्रीय सदस्यहरुले बताएका छन् ।
देउवालाई यस पटक देउवा र कोइराला गुट बाहेक आफ्नै भनिएकाबाट ठुलो चुनौती आएको छ । उनी पक्षीय मुख्य नेताहरु उपसभापति निधी र पूर्व उपसभापति श्रेष्ठले १४औं महाधिवेशनमा सभापति उठ्ने घोषणा गर्नु तथा विगतमा उनकै गुटमा रहेका प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले पनि सभापतिमै रुचि देखाएपछि देउवा अफ्ठ्यारोमा परेका छन् ।
विगतमा देउवाको मुख्य सारथी भनिएका डा.मिनेन्द्र रिजाल, बलबहादुर केसी, १३औं महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीमा उठेका अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, शुक्रराज शर्मा, लक्ष्मण घिमिरेलगायत नेताहरु यसपटक देउवासँग छैनन् ।
त्यसैगरी तराईमा देउवाको पक्षमा लबिङ गर्ने निधी आफैं सभापतिमा उठ्ने र विगतमा काठमाडौंमा देउवाको लागि सकारात्मक माहोल बनाउने गणेशमान पुत्र प्रकाशमानसिंहले पनि यसपटक देउवालाई टक्कर दिने कुराले पनि देउवाको साथ छाड्नेहरु अझै बढ्ने देखिन्छ ।
युवा नेताहरुमध्ये प्रवक्ता विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण, शंकर भण्डारी मात्रै देउवासँग नजिक छन् । उनीहरुमध्ये पनि धेरैको चाहना पदाधिकारी रहेकोले देउवा गुटभन्दा फरक गुटबाट प्रस्ताव आउने र जित्ने ग्यारेन्टी भएमा देउवालाई नै काँध थाप्ने देखिन्नन् ।
यता देउवाले आफुले सभापति बन्न नपाए निधीलाई सघाउने तर त्यसको लागि श्रीमती आरजु राणालाई महामन्त्री बनाउने प्रस्ताव राख्न सक्ने अड्कल पनि गरिँदैछ । यदि यसो भएमा देउवा गुटमा झन् किचलो हुनेछ ।
देउवालाई सभापतिमा समर्थन गरेर आफु महामन्त्री हुने आकांक्षा राख्ने प्रवक्ता विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का जस्ता नेताहरुले पनि आरजुलाई महामन्त्री बनाउने कुरा अस्वीकार गर्ने देखिन्छ ।साझापोस्टबाट