चितवन । पाँच दलीय सत्तारुढ गठबन्धनले चितवनका ९८ वडामै चुनावी तालमेलको प्रयास गरेको छ । सत्तारुढ गठबन्धन चुनावी तालमेल मिलाउन यतिबेला बैठकमा बसेको छ । आज राति अबेलासम्म ९८ वडामै चुनावी तालमेल मिलाउने गरी घनीभूत छलफलमा बसेको सत्तारुढ दलका नेताहरु बताउँछन् ।
नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै तहहरुमा कार्यान्वयन गर्न परिपत्र तयार गरिएको बताएका छन् । उनले गठबन्धनका विषयमा नेपाली कांग्रेसले पनि आफ्नो दायित्व पूरा गर्ने काम गरिरहेको बताए ।
गठबन्धनमा गइसकेपछि नेपाली कांग्रेसका जिम्मेवार नेता र कार्यकर्ताहरुले रेनु दाहाललाई भोट दिन्न भन्न नमिल्ने बताएका छन् । उनी भन्छन्, ‘रेनु दाहाल भन्दा पनि गठबन्धनका उम्मेदवारलाई भोट दिने हो । यसकारण पनि भोट दिन्न भन्न मिल्दैन, व्यक्तिभन्दा पनि गठबन्धन ठूलो हो ।’ जिल्लाभरका ९८ वटै वडामा गठबन्धनका बीचमा मिलाउने प्रयास भइरहेको उनले बताए ।

