पर्वत। पर्वत जिल्लाको फलेबासमा बुधबार असिना पानीले बाली नष्ट गरेको छ । फलेबास नगरपालिका ११ पाङराङमा किसानले लगाएकाे अन्न तथा तरकारी बाली असिनाले नष्ट गरेको छ। कर्नासको नाराणस्थान बिउ उत्पादन सहकारी संस्थामा आबद्ध ८० जना कृषकले लगाएको काँक्रा खेतीमा असिनाले पूर्ण क्षती पुर्याउँदा करोडौँको क्षती पुगेको स्थानीयले बताएका छन् ।
कर्नासका किसानको मूख्य पेसा नै बीउ उत्पादन गर्ने थियो । बुधबार दिउँसो परेको असिनाले कर्नासमा काँक्रा, गहुँ र मकै खेतीमा ठूलो असर पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
यहाँका किसानले विशेषगरी अहिलेको सिजनमा खाद्यबालीमा भन्दा बाली, काँक्रा टमाटर लगायत तरकारीहरुको बीउ उत्पादन गर्ने खेतीमा बढी आकर्षित थिए । यसपटकको असिनाले काँक्रो ठूलो लगानी माटोमा मिसाइदिएको स्थानीय बाबुराम भुसाल बताउँछन् । उनी भन्छन्, ‘बिहान हेर्दा हरीयाली फाँट बेलुका त मरुभूमी जस्तै भयो ।’
त्यस्तै सोही ठाउँका स्थानीय बिक्रम पाठकले खेतीलाई बिस्तार गर्दै यसबर्ष गतबर्षको तुलनामा केही धेरै आम्दानी लिने लक्ष्यका साथ खेती गरेका थिए । तर उनको लक्ष्य पुरा हुन पाएन ।

बीउ, मल महँगो, काम गर्ने जनशक्तिको अभाव भएपनि यहाँका कृषकले अन्नबाली भन्दा नगदेबालीको रुपमा काँक्रा खेतीलाई निरन्तरता दिँदै आएका थिए । ‘काँक्रा फुल्ने तयारीमा थिए , विनाशकारी असिनाले सबै सोत्तर बनायो ।’ । पाठक भन्छन् ‘गाउँमा कृषि बीमा सम्बन्धी चासो नभएका कारण किसानलाई प्राकृतिक विपत्तिका कारण क्षती पुग्दा पुर्णरुपमा घाटा बेहोर्नुपरेको छ ।’
असिनाले कर्नासमा काँक्रा र मकै खेतीमा क्षती पुर्याएको छ भने बाच्छा, पाङराङ र श्रीकाङमा फुल्दै गरेको सुन्ताला नष्ट गरेको उनले बताए ।

