काठमाडौँ। काठमाडौंकी अनुषा महर्जन ‘द डायना अवार्ड’ बाट सम्मानित भएकी छन्। सोमबार भर्चुअल कार्यक्रममा बेलायत र विश्वभरका देशहरूबाट झन्डै तीन सयभन्दा बढी युवालाई यो अवार्डबाट सम्मान गरिएको हो।
२३ वर्षीया अनुषालाई सोही दिन डायना अवार्डबाट सम्मान गरिएको हो। यस वर्ष डायना अवार्ड पाउने उनी एक मात्रै नेपाली हुन्।
सामाजिक र मानवीय कार्यहरूमा पुर्याएको विशिष्ट योगदानलाई पहिचान गर्दै द डायना अवार्ड च्यारिटीले प्रत्येक वर्ष ‘द डायना अवार्ड’ बाट दुई दशकदेखि बेलायत र विश्वभरका सबैभन्दा प्रेरणादायी युवालाई सम्मान गर्दै आएको छ।
डायना अवार्ड वेल्सकी पूर्व राजकुमारी डायनाको सम्झनामा दिँदै आएको हो। यसका लागि राजकुमारी डायनाका छोरा विलियम र ह्यारीले समर्थन गर्दै आएका छन्।
यस वर्ष डायना अवार्ड पाउने एक मात्र नेपाली अनुषा आफूले अवार्ड पाएसँगै आत्मबल बढेको बताउँछिन्।
‘मेलै गरिरहेको कामले समाजमा कुनै योगदान पुर्याइरहेको छ कि छैन भन्ने अन्यौलमा थिएँ,’ उनले भनिन्, ‘यो अवार्ड पाएसँगै आत्मबल बढेको छ। समाजप्रति मेरो जिम्मेवारी बढेको महशुस पनि गरेकी छु।’
अनुषाका अनुसार उनी सन् २०१६ देखि गैर-सरकारी संगठन ‘वी फर चेन्ज’मा आवद्ध भइन्। त्यहाँ उनले एक हजारभन्दा बढी युवालाई आफ्नो नागरिक र राजनीतिक शिक्षाबारे बुझाइन्। उनी वी फर चेन्जकी उप-सभापति समेत हुन्। यो संस्थाले १६ देखि २४ वर्ष उमेर समूहका युवा सक्रिय रूपमा समाजप्रति जिम्मेवार भइ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
अनुषाले यो संस्थाबाट सन् २०२० सालको सेप्टेम्बरदेखि ‘आई क्यान लिड’ अर्थात् ‘म नेतृत्व गर्न सक्छु’ नामक प्रोजेक्टको नेतृत्व गर्दै सञ्चालन गरिन्। यसमार्फत उनले ३० किशोरीहरूलाई राजनीतिक शिक्षा, यौन र प्रजनन शिक्षा, अधिकार, अनुसन्धान र अवसरबारे बुझाइन्।
त्यस्तै उनले सन् २०२० सालको जुनदेखि आफ्नै पोडकास्ट ‘वान ओ वान’ पनि सञ्चालन गरिरहेकी छन्। यो पोडकास्टले युवा पुस्तालाई द्वन्द्व र मानव अधिकार उल्लंघनबारे शिक्षा दिलाउँछ।
यिनै दुई उल्लेखनीय कार्यको नेतृत्व गरेको भएरै अनुषाले ‘द डायना अवार्ड’ पाएकोमा उनी विश्वस्त छिन्। अवार्डको आधिकारिक वेबसाइटमा अनुषाबारे लेखिएको छ, ‘अनुषा दूरदर्शी छिन्। उनी दिगो दर्शन राख्दै मानव समाज र समुदाय निर्माणमा अथक प्रयास गरिरहेकी छन्।’
अनुषा हिमालयन ह्वाइट हाउस कलेजबाट ‘लिबरल आर्ट एन्ड साइन्स’मा स्नातक गर्दैछिन्। पढाइसँगै यतिबेला विभिन्न क्षेत्रमा स्वैच्छिक कार्यमा सक्रिय उनी भविष्यमा मानव अधिकारसम्बन्धित प्रोजेक्टहरूमा काम गर्ने बताउँछिन्।
‘मलाई कविता लेखन र यसले पार्ने प्रभावहरूमा विशेष लगाव छ। भविष्यमा यसैलाई आधार बनाएर मानव अधिकार शिक्षासम्बन्धि प्रोजेक्टहरूमा काम गर्नेछु,’ उनले भनिन्।
अनुषाले सन् २०२१ को फेबुअरीमा मात्रै ‘द डायना अवार्ड’ को लागि निवेदन दिएकी हुन्। उनका अनुसार यसका लागि वर्षभर आवदेन दिन मिल्छ। मार्च महिनामा निवेदन दर्ता बन्द हुन्छ। र, आएको आवदेकको कार्यको मूल्यांकन हुन्छ। यसका लागि विभिन्न क्षेत्रका १२ जना निर्णायक हुन्छन्। सोही मूल्यांकन आधारमा सहभागीमध्ये केहीलाई ‘द डायना अवार्ड’बाट सम्मानित गरिन्छ।
नौ वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिले आफ्नो समाज र मानवको लागि उल्लेखनीय कार्य गरेको खण्डमा डायना अवार्ड च्यारिटीले त्यस्ता व्यक्तिलाई पहिचान गरी अवार्ड वितरण गर्ने हो।
द डायना अवार्डका सिइओ टेसी ओजोले यस वर्षको कार्यक्रममा बोल्दै भनेका छन्, ‘सबै अवार्ड विजेतालाई हार्दिक बधाइ। यो अवार्डले तपाईंहरूको समुदायका अन्य युवा पुस्तालाई पनि सामाजिक कार्यमा संलग्न हुन प्रोत्साहन गर्छ भन्नेमा विश्वास राखेका छौं।’