काठमाडौं । आज कमला, वाग्मतीलगायत नदीमा पानीको बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज बिहानको मापनानुसार नारायणीको सहायक नदी माङ्दी, विमलनगर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । कोसी, नारायणी, वाग्मती र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ ।
आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । भोटेकोसी, सुनकोसीलगायत कोसीका सहायक नदीहरु तथा त्रिशूली, बूढीगण्डकी, कालीगण्डकीलगायत नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
आज पश्चिम राप्ती, बबईमा बहाव सामान्य रहने, पूर्वी राप्ती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
आज कोसी र नारायणीका सहायक नदीहरु तथा पूर्वी राप्ती र कन्काईलगायतमा बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने प्ूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।