चितवन । एमालेका नेता देवी ज्ञवाली । भरतपुर महानगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा एमालेका उम्मेदवार । हाल एमाले पोलिटव्युरो सदस्य, चितवन जिल्ला इन्चार्ज । उनी २०७४ सालको चुनावमा नेपाली कांग्रेसको समर्थनमा माओवादीबाट मेयर पदमा उठेकी रेनु दाहालसँग पराजित भएका हुन् ।
जतिबेला एमालेका देवी ज्ञवाली र गठबन्धनका उम्मेदवार रेनु दाहालबीचमा कडा प्रतिस्पर्धा भइरहेको थियो। भरतपुर महानगरको मतगणना करिब अन्तिम चरणमा पुग्दै थियो । २०७४ जेठ १४ गते मध्यरातमा भरतपुर वडा नं १९ को मतगणनाको क्रममा अचानक मतपत्र च्यातियो । मतपत्र च्यातिएको भरतपुर १९ मा अदालतको आदेश बमोजिम पुनः मतदान हुँदा ज्ञवाली २०३ मतले उपविजेता बने ।
त्यतिबेला भरतपुर महानगरको मेयरमा रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर जित्दैगर्दा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याए । २०७४ मा पराजित भएका देवी ज्ञवालीले अहिलेको स्थानीय चुनावको लागि मैदान खाली गरिसकेका छन् । ज्ञवालीको नाम फेरि चर्चा भए पनि एमालेले विजय सुवेदीलाई भरतपुर महानगरको मेयरमा उठाएको छ । देवी ज्ञवालीले भरतपुर महानगरका मेयर रेनु दाहालले गरेको विकासमा कति नजर लगाएका छन् ? नेता ज्ञवालीले रेनुको कामलाई कसरी हेरिरहेका छन् ? चितवन प्रेससँगको कुराकानीमा नेता ज्ञवाली यसो भन्छन्, उनकै शब्दमा ।
तथ्यमा हेरौँ, चितवनमा सात पालिका छ । एकछिन भरतपुरलाई छोडेर अन्य पालिकाको विकास हेरौँ त । महानगर भैकन पनि अन्य पालिकाको विकासमा भरतपुर जान सकेको देख्दिनँ म । जति महानगरको विकास हुनुपर्ने थियो, त्यति हुन सकेन । चितवनका अन्य पालिकाको जति विकास पनि यहाँ नभएको पाएँ ।
अहिलेका मेयरसाबले चुनावको बेला धेरै कुरा गर्नुभएको थियो, त्यो त पूरा भएको छैन । नारायणगढ र भरतपुृरमा आकाशे पुल बनाउँछु भन्नुभएको थियो उहाँले कहाँ पुग्यो भनेर एक पटक सोध्नूस् त ! ल्यान्डफिल साइट कहाँ पुग्यो ? यो पनि सम्झेर सोध्नु त ! अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कस्को कारणले अलपत्र परेको छ ? यो पनि सोध्दा हुन्छ ।

म त भरतपुर महानगरमा त्यस्तो विकास भएको देख्दिनँ । भरतपुर महानगरमा अहिले निर्माणाधीन ६ लेन सडक केपी ओली सरकारको पालामा परेको बजेट हो । उहाँ आएर नै ६ लेन सडकको शिलान्यास भएको हो । त्यतिबेला भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास कार्यक्रम नै बहिष्कार गर्नुभयो । सिटी हल पनि केपी ओलीको सरकारले नै भरतपुरमा पारेको हो । भरतपुरका दुई ठूला आयोजना त एमालेले ल्याएको हो, यहाँ काम गर्ने एउटा जस अर्कोले लिएर हुन्छ त ।
म त भरतपुर महानगरमा त्यस्तो विकास भएको देख्दिनँ । भरतपुर महानगरमा अहिले निर्माणाधीन ६ लेन सडक केपी ओली सरकारको पालामा परेको बजेट हो । उहाँ आएर नै ६ लेन सडकको शिलान्यास भएको हो । त्यतिबेला भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास कार्यक्रम नै बहिष्कार गर्नुभयो ।
सडकहरु कालोपत्रे भयो भनेर जुन चर्चा गरिएको छ, त्यो त स्वभाविक हो । आज धुलो भएको बाटो भोलि ग्रावेल हुन्छ, केही समयपछि कालोपत्रे हुन्छ । के अनौठो हो र यो ! महानगरमा फुटपाथको व्यवस्था हेरौ त के हालत छ ? पार्किङ अस्तव्यस्त छ । वडापिच्छेहरुमा पार्कको कुरा गरिएको थियो, खोई पार्क ? सहरको व्यवस्थित विकास खोई ? कालोपत्रे गरिएको छ, नाला छैन । नाला छ कालोपत्रे छैन । अव्यवस्थित विकास भएर सहरको सौन्र्यता बढ्छ ?
महानगरले बनाउने भनेको ल्यान्डफिल साइट कहाँ गयो ? कति वर्ष लाग्छ ल्यान्डफिल साइट ? फोहोरको व्यवस्थापन हुन नसक्दा महानगरमा कति समस्या छ भन्ने कुरा वडा नं ३ का नदीकिनारका बासिन्दालाई सोध्दा पनि उत्तर पाइन्छ । भरतपुर महानगरले वडामा विकासको लागि सुरुमा त एक करोडमात्र दियो, पछि आएर १ करोड ७० लाख दियो । जहाँ कि राप्तीजस्तो सानो नगरपालिकाले प्रत्येक वडालाई २ करोड विकास खर्च दिइरहेको छ ।
भरतपुर महानगरमा जुन अपेक्षा थियो नगरवासीको त्यो अपेक्षाअनुसार काम भएको छैन ।
महानगरमा बेरोजगारी अवस्था समाधान हुन सकेको छैन । देवघाट शवदाह गृह बन्न सकिरहेको छैन । ल्याण्डफिल साइट डिपिआरमै सिमित छ । लिंकरोड र रिंगरोड अलपत्रजस्तै छ । खै, के विकास भएको देखियो त । म त त्यस्तो देख्दिनँ ।

