चितवन । खुमनारायण श्रेष्ठ चितवनको कालिका नगरपालिकाबाट एमाले निर्वाचित मेयर हुन् । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार कमल आचार्यलाई पराजित गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार आचार्यले भन्दा एमालेका उम्मेदवार श्रेष्ठले ३२८ बढी मत ल्याएर विजयी भएका थिए ।
श्रेष्ठको कार्यकालको पाँच वर्ष अवधिमा कालिकाका मेयर श्रेष्ठले गरेका कामलाई स्थानीय तहको निर्वाचन २०७४ का प्रतिद्वन्द्वी कमल आचार्यले श्रेष्ठको कामप्रति गरेको समीक्षा, उनकै शब्दमा ।
‘मेयरसाब’ (खुमनारायण श्रेष्ठ)ले घोषणा गरेका कामहरु पूरा भएका छैनन् । सुकुमबासीलाई जग्गा दिने, बाढीपीडितलाई लालपुर्जा दिनेसम्मका कुराहरु थिए । ती अहिले पनि जहाँको त्यहीँ छन् । कार्यकालको अन्त्यमा आएर मात्रै जग्गा नापीको काम हुँदैछ ।
गरिबीको मारमा परेका जनतालाई आश्वासन दिएर उहाँहरुले पहिले आफूलाई नै व्यवस्थित बनाउन लाग्नुभयो । जनताका समस्याप्रति नजर जान सकेन । उहाँहरुले आफ्नै घरपरिवारको नाममा जग्गा राख्न थालेपछि यहाँका जनता ओझेलमा परेका छन् । अहिले केन्द्रमा सरकार फेरिएपछि बल्ल यसतर्फ ध्यान जान थालेको देखिन्छ । कांग्रेसको सरकार आएपछि यहाँका सुकुमबासीलाई जग्गा नापेर निस्सा दिने काम हुन थालेको छ । लालपुर्जा भने निर्वाचन पछि नै हुन्छ होला ।
यसअघिको निर्वाचनको प्रतिस्पर्धामा म निर्वाचित हुन सकिनँ । म निर्वाचित भएको भए यस्तो गर्थे, उस्तो गर्थे भनेर म भन्दिनँ । तर, उम्मेदवारी दिने पक्का भइसकेपछि हामीले सबैभन्दा पहिला कालिकाको पहाडी इलाकामा सबै खालका सेवा सुविधा पु–याउने भनेका थियौँ त्यो हुन सकेको छैन ।
उहाँहरुले गर्नुभएको ठूलो काम भनेको उपमेयरले नक्सा नबनाई ऐलानी जग्गामा घर बनाउनुभएको छ । जनताको घर बनाउन नसके पनि आफ्नो कार्यकालमा उपमेयरले आफ्नो घर बनाउनुभयो उहाँको पाँच वर्षे उपलब्धि यही हो ।
कालिका नगरपालिकास्थित रहेको पर्यटकीय स्थल सिन्ती झरनासम्म बाटो बनाउने भनेपनि उक्त स्थानसम्म बाटो पुग्न सकेको छैन । हरेक वर्ष बर्खामा कालिका र पदमपुरका ६ वटा वडा डुम खोलाले बस्ती डुबाउने गर्छ । यसले रत्ननगरलाई समेत प्रभाव पारेको छ । यसको पनि समाधान गर्छौँ भन्ने कुरा पाँच वर्षसम्म भाषणमा मात्रै सिमित रह्यो । कमसेकम बाढी तर्काउने काम मात्रै भए पनि जनताले जस दिने थिए, यही काम पनि पुरा हुन सकेन ।
नगरपालिकाको भवन बनाउने सम्बन्धमा पनि हाम्रा तीन वटा प्रतिबद्धता थिए । भवनको नाम शक्तिखोरको कालिकाबाट राख्ने, स्थायी मुकाम जुटपानीको रेडक्रसको चौरमा राख्ने र अस्थायी कार्यालय पदमपुरमा राख्ने भनिएको थियो । उहाँहरु निर्वाचित भएर आउँदा वडा नम्बर ४ बाट नगरपालिकाले सेवा दिँदै आएको थियो । अहिले आफ्नो इच्छाअनुसार त्यहाँबाट स्थानान्तरण गरी अस्थायी कार्यालय भाडाको घरबाट सेवा दिइरहनुभएको छ । जहाँ करसहित मासिक एक लाख रुपैयाँ बराबरको भाडा तिर्नुपर्ने अवस्था रहेको छ । अहिलेसम्म लगभग सबै वडा कार्यालय निर्माण भइसकेका छन् । बनेका वडाका भवनहरु पनि पायक पर्ने ठाउँमा छैनन् । वडाहरु कतै पहिरोको जोखिममा छन् ।
कोरोना भाइरसको महामारीमा पनि उहाँको उल्लेखनीय योगदान देखिँदैन । संक्रमितहरु सबै कांग्रेसले जितेका वडाहरुमा राखियो । उहाँहरुले आफु भएको ठाउँमा १÷२ वटा विद्यालयमा मात्रै राख्नुभयो । कोभिडको समयमा उहाँहरु खासै परिचालित पनि हुनुभएन ।
हामीले विकास केलाई मान्ने ? हाम्रो बुझाइमा बाटो नभएको ठाउँमा बाटो खन्नु विकास हो । जहाँ बाटो त्यहाँ अलिअलि पिच गरेर स्तरोन्नति गरियो । कुनै बाटो आयोजनामा परेर पनि बनाउन सक्नुभएन । तर अन्य विकासका काम भएको जस्तो मलाई लाग्दैन ।
शिक्षाका क्षेत्रमा नगरपालिकामा प्राविधिक विद्यालय बनाउन भनिएको थियो उहाँहरुले यो काम पनि गर्न सक्नुभएको छैन । विद्यालयहरुमा आर्थिक सहयोग भने गरेको देखिन्छ । उहाँहरुले गर्नुभएको ठूलो काम भनेको उपमेयरले नक्सा नबनाई ऐलानी जग्गामा घर बनाउनुभएको छ । जनताको घर बनाउन नसके पनि आफ्नो कार्यकालमा उपमेयरले आफ्नो घर बनाउनुभयो उहाँको पाँच वर्षे उपलब्धि यही हो ।
यस ठाउँमा बेरोजगारी व्याप्त छ । जनताले २ छाक राम्रोसँग खान पाएका छैनन् । तीनका समस्यामा उहाँको नजर पुगेको छैन । जे काम गर्दा गरिब जनतालाई फाइदा पुग्छ त्यही काम गर्नुपर्ने हो । तर नगरपालिकाले काम गर्न सकेको छैन ।
म यसपटक पनि उम्मेदवारी दिने विचारमा छु । सबै साथीहरुको सल्लाहअनुसार पुनः एकपटक अगाडि जानैपर्छ भन्ने भएको छ । यसैकारण यसपटक पनि उम्मेदवार दिने तयारीमा छु । यदी म निर्वाचित भइहालेँ भने यहाँका स्थानीयका लागि अहिले विगतका पाँच वर्षमा समेट्न नसकिएका सबै कुरा समेट्नेछु ।

