चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र चितवनले यसवर्ष रत्ननगर १५ मा रहेको माधवपुर कृषि सहकारीसँग धान दिवस तथा रोपाईँ महोत्सव मनाउने तयारी गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण सांकेतिकरुपमा जम्मा ५ कठ्ठामा आधुनिक तथा यान्त्रिकरण विधिबाट रोपाईँ गरेर दिवस मनाउने तयारी भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए।
विगतमा जस्तो सहज वातावरण नभए पनि कृषिकर्म हरेक नेपालीको लागि परम्परा र संस्कृतिसँग जोडिएको हुँदा त्यसैलाई निरन्तरता दिन पनि रोपाईँ महोत्सवलाई निरन्तरता दिने प्रयास गरिएको उनले बताए। चितवनलाई धानको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ। त्यसैले पनि अन्य जिल्लामा भन्दा चितवनमा कृषिसम्बन्धि कार्यक्रमहरु भइरहेका छन्।
सोही आधारमा यसवर्षको असार १५ मा धान दिवस तथा रोपाईँ महोत्सवलाई निरन्तरता दिने प्रयासमा जुटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमल्सेनाले जानकारी दिए। चितवनको कृषि क्षेत्रमा सोचेजस्तो ठूलो फड्को मार्न नसके पनि कृषि आधुनिकीकरण र यान्त्रिकरणको विषयमा सरकारी तथा निजी क्षेत्रबाटै विभिन्न खालका प्रयास भइरहेका उनले बताए।