चितवन। बिहान उठे घरको धन्दा गरे । गाईगोठ सोहोरे । चिया पानी खाए । घरमै यताउती गर्दै घडीले ९ बजायो । गोठमा रहेका गाईभैँसी कराउन थाले ।
परिवारलाई उनले भने, ‘अलिकति घाँस काटेर आउँछु, वस्तु कराउन थाले ।’
हसिँया र नाम्लो निकाले । खैरहनी नगरपालिका वडा नम्बर १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न हिँडे रामप्रसाद धमाला । उनी समूहमा गएनन् घाँस काट्न । एक्लै घाँस काटिरहेका थिए । त्यतिबेलै अचानक बाघले उनलाई घिसारेर लग्यो ।
बाघको आक्रमणबाट बेपत्ता भएका रामप्रसाद धमलाको शव फेला परेको छ। खैरहनी १२ का धमला किसान हुन् । स्थानीय धमलाको शव जितपुरघाटमा फेला परेको प्रहरीले जनाएको छ ।
६५ वर्षका रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेर लगेको प्रहरीले जनाएके छ । धमलाको खोजीमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । जितपुरघाटमा धमलाको शव ११ः२० बजे भेटिएको हो । घाँस काट्न गएका धमला अब कहिल्यै
फर्किनन् ।

