भरतपुर। चितवन सहित देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । अहिले वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पानी परेका ठाउँहरुमा शीतल भएको छ । हिजो अस्ति पानी नपर्दा चितवन सहित धेरै ठाउँमा गर्मी बढेको थियो । मौसमविद्का अनुसार चितवनमा अहिले पानी परे पनि फेरि रोकिएर मौसम खुल्ने सम्भावना छ । मनसुन केही कमजोर भएकाले अबको केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । कुनै मौसमी प्रणाली नभित्रिएसम्म नेपालमा अबको तीन चार दिन लगातार झरी पर्ने छैन ।अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा केही दिन पानी कम पर्ने अनुमान छ । तर, मनसुन कमजोर भए पनि बर्खाको समय भएकाले खण्डवृष्टि हुने मौसमविद्ले बताएका छन् ।
खण्डवृष्टिमा कुनै एक ठाउँमा पानी नपरे पनि त्यो नजिकै भने पानी पर्ने हुन्छ । यस्तो बेला एकै पटक ठूलो पानी धर्कने र रोकिने सम्भावना पनि हुन्छ । यसले गर्दा पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।