विराटनगर । मोरङमा वन कर्मचारी र पत्रकार भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका- १० मा वनको कर्मचारी तथा पत्रकार हौँ भनी रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका- ६ जुटविकासका ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका- ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् । उनीहरुले गत असार ४ गते रतुवामाई- १० मा रहेको पूर्णबहादुर श्रेष्ठको माइवेनी स-मिलमा रकम उठाउन गएको बेला प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान-१, कान्तिपुर पोस्टको बजार व्यवस्थापक परिचय पत्र थान-१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१, बराह साप्ताहिकको संवाददाता परिचय पत्र थान–१ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए ।
बरामद भएको रकम अभिलेख डायरीमा मोरङका विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजारदेखि ११ हजार ५ सयसम्म उठाएको उल्लेख गरिएको छ । उनीहरुले ‘हामी वनका कर्मचारी र पत्रकार हौं । कार्यालयमा तेलको आवश्यक छ‚ सहयोग गर्नुहोस्‚ अन्यथा तपाईंहरूलाई काम गर्न अप्ठ्यारो हुनेछ‚’ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुन्धानबाट खुलेको डिएसपी राईले बताए ।
पक्राउ परेका चौहान र सिग्देलमाथि ठगी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।