चितवन । भरतपुर महानगरपालिकाको ५५ प्रतिशत माटोको उपचारबिना कृषि गर्न नमिल्ने अवस्थामा पुगिसकेको छ । माटोमा तीव्र रुपमा रासायनिक मल र विषादीको प्रयोग गरेकाले महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लीयपनाको समस्या रहेको देखिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजाले यस्तो देखाएको हो ।
महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण गर्दा ५५ प्रतिशत माटोमा अम्लीयपन देखिएको प्रयोगशाला हेटौँडाका प्रमुख डा जनार्दन खड्काले जानकारी दिए । माटोमा प्राङ्गारिक पदार्थको मात्र जम्मा ४० प्रतिशत रहेकोले माटोको सही उपचार बिना उत्पादन लिन नसकिने डा खड्काको भनाइ छ ।
मुख्य समस्याको रुपमा रहेको अम्लियपन हटाउन कृषि चुनको प्रयोग गर्नुपर्ने र त्यसपछि प्राङ्गारिक मलको प्रयोग गरेर खेती गर्नुपर्ने खड्काको भनाइ छ । कम्पोष्ट मल, प्राङ्गारिक मल या घरको गोठेमलको प्रयोगबिना माटोको उपचार सम्भव नहुने भएकाले राम्रोसँग पकाइएको वा प्रशोधन गरिएको गाईबस्तुको मलको प्रयोग गरेर माटोमा सुधार ल्याउन उनले आग्रह गरे । माटोको सुधार गर्न प्रागारिक र कम्पोष्ट मलको प्रयोगमा किसानलाई अग्रसर बनाउन महानगर कृषि शाखालाई सुझाव दिएको खड्काले बताए ।
माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण अत्याधिक मात्रामा प्रयोग गरिने रासायनिक पदार्थ भएको महानगरका कृषि तथा पशुपन्छी प्रवद्र्धन शाखाका प्रमुख तेजेन्द्र पौडेलले बताए । किसानहरूले माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिगार्ने काम तीव्र भएको बताउँदै उनले सबै किसानलाई माटो परीक्षण गरी प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरे । माटोमा अम्लीयपन बढे उत्पादन स्वतः घट्ने माटो विज्ञको भनाइ छ । अम्लीयपनको मात्र यसरी नै बढे अन्न तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमा नै शून्यमा झर्ने सम्भावना रहन्छ । जमिन ५-५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । तर, ५-५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ र माटोलाई उपचार गर्नुपर्ने हुन्छ ।
माटो परीक्षणपश्चात सिफारिस गरिएका मात्रामा कृषि चुन माटोमा प्रयोग गर्नुपर्ने विज्ञहरु बताउँछन् । कृषि चुन बाली उत्पादन गरेर खाली भएको जमिनमा प्रयोग गरेर त्यसलाई जोतेर पानी लगाउनुपर्ने कृषि शाखा प्रमुख तेजेन्द्र पौडेल बताउँछन् । चुन छरेर जोतेपछि पानी लगाउन सकियो भने १५ दिनमा जमिन खेती गर्न तयार हुने उनले बताए । कृषि चुना छर्ना साथ खेती गरेमा बाली नउम्रने, बाली उम्रेको भए डढ्ने समस्या रहने बताइन्छ । सिचाई नहुने जमिनमा भने कृषि चुन छरेपछि जमिन जोतर १ महिनासम्म खेती गर्न नहुने कृषि बिज्ञ डा खड्काले बताए । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ । त्यसैले माटो सुधारमा ध्यान दिन आवश्यक भएको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङले अब रासायनिक मल बिउको प्रयोग घटाएर अर्गानिक उत्पादनमा जोड गर्नुपर्ने बताइन् । माटो सुधारका लागि पशुपन्छीको मलको प्रयोगलाई बढाउन उनले आग्रह गरिन् । माटोको उर्भरा शक्ति बढाउनतर्फ ध्यान दिन उनको आग्रह छ । महानगर प्रमुख रेनु दाहालले महानगरमा अब अर्गानिक उत्पादन र उपभोगमा जोड दिएकाले सबै किसानलाई माटो सुधार गरी अर्गानिक खाद्यबस्तु उत्पादन र उपभोग गर्न आग्रह गरिन् । अर्गानिक उत्पादनका लागि महानगरले आवश्यक सहयोग र समन्वय गर्ने र बलबिउ कृषि चुनामा कसरी किसानलाई सहयोग गर्न सकिन्छ त्यसका लागि कृषि शाखाले आवश्यक प्रबन्ध गर्ने उनको भनाइ छ ।
सो अवसरमा भरतपुर माहानगर उपप्रमुख पार्वती शाह ठकुरीले अब अर्गानिक उत्पादन गर्न जोड दिइन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले विषादीयुक्त उत्पादनले क्यान्सर रोग बढाएकाले त्यसबाट बच्न बेलैमा ध्यान दिनुपर्ने बताए ।

