चितवन। राष्ट्रिय महिला लिग फुटबलको बिभागिय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
आज (बुधबार) भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित ग¥यो । पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले गोल गरे । आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काईन् ।
खेलको १२ औं मिनेटमा पुलिसले अग्रता लियो । आर्मीकी डिफेन्डरले पुलिसकी फर्वाड निर्मला विकलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा कुनै गल्ती नगरी निरुले बललाई जाली चुमाईन् ।
लगत्तै २ मिनेटपछि पुलिसले अग्रता दोब्बर बनायो । निर्मला विकको एसिस्टमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई २(० को अग्रता दिलाईन् । सुरुवातमा नै दुई गोलले पछि परेपछि आर्मी दबाबमा प¥यो । पहिलो हाफको अन्तिममा आर्मीले सेट पिसमा केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
५१ औं मिनेटमा आर्मीले पेनाल्टी पायो । पुलिसका डिफेन्डरले डि बक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिए । रेफ्रीको उक्त निर्णयमा असन्तुष्टी जनाउँदै पुलिसले मैदान छोडेपछि करिब १२ मिनेट खेल रोकियो। तर आर्मी पुलिसको अग्रता छोट्याउन असफल भयो । आर्मीकी रश्मी घिसिङको पेनाल्टी पुलिसकी गोलकिपर उषा नाथले बचाईन् ।
७० औं मिनेटमा आर्मीले अग्रता छोट्यायो । आर्मीका लागि पुनमले गोल गरिन् । ८८ औं मिनेटमा पुलिसकी निर्मला विक वान भर्सेस वानमा गोल गर्न चुकिन् । खेलको प्लेयर अफ दि म्याच पुलिसकी निर्मला विक भईन् ।
यो जितसँगै पुलिसले तीन खेलमा दुई जित हात पार्दै ९ अंक बनाएको छ । समान खेल खेलेको आर्मीको ३ अंक मात्रै छ ।
यस अघि आजको पहिलो खेलमा चन्द्रपुर र विराटनगरले एक–एक को बराबरी खेल्दै अंक बाँडेका छन् । चन्द्रपुरको तर्फबाट रजनी थोकरले गोल गरिन् भने विराटनगरका लागि मिना खातुनले गोल गरिन् ।
प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । तर विराटनगरको अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो ।
दोस्रो हाफमा चन्द्रपुरले गोल फर्कायो । ५३ औं मिनेटमा रजनीले गोल गरिन् । उनले रिबाउण्डमा सुन्दर हेडर गोल गर्दै बराबरी गरिन् । बाँकी समयमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । बरबरीसँगै दुबै टिमले एक/एक अंक बाँडेका छन् ।
विराटनगरले ३ खेलबाट ४ अंक बनाएको छ । समान खेल खेलेको चन्द्रपुरको भने एक अंक मात्रै रहेको छ ।
लिगमा भोलि ९बिहीबार० पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे सशस्त्र प्रहरी बल (एपिएफ) र वालिङबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे धनगढी र ललितपुरबीच हुनेछ ।

