चितवन । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीकिनारका जनता अब बाढीको त्रासबाट मुक्त भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले आज भरतपुर २६ सिसुवारमा नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्दै नदीकिनारका बासिन्दाको वर्सौदेखिको समस्या हल हुने बताए । उनले भने, ‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम बल्ल कार्यान्वयनमा आएको छ ।’
नदी कटानको समस्या र नागरिकले भोग्नु परेको पीडाको अनुभूति आफूले राम्रोसँग गरेको बताए । बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो भन्ने चिन्ता रहिरहने गरेको बताउँदै अध्यक्ष प्रच्ण्डले भने, ‘जनतासमक्ष गरेको वाचा पूरा भएको छ, अब नदी किनारका जनताले बाढीको त्रासमा रहनुपर्दैन।’
नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने बताए । भरतपुरको विकास देशकै एक मोडेलको रूपमा देश तथा विदेशमा चर्चा हुने गरेको उनले बताए । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास हुनु चितवन जिल्लाकै गौरवको विषय भएको उनले बताए । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरी सुरू गरिएको बताइन् ।

विगतमा अभिसाप बनेको यस नरायणी तटीय क्षेत्र तटबन्धन सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने उनको भनाइ थियो । उनले तोकिएकै समयमा गुणस्तरीय ढंगले काम सम्पन्न गर्न निर्माण व्यवसाय र सम्बन्धित कर्मचारीहरूलाई निर्देशन समेत दिइन् । कार्यक्रममा मन्त्री भुसालले देशभरिका पलिकामध्ये भरतपुर महानगरपालिकाको काम गर्ने पहल कदमीले नै आयोजनाहरू सम्पन्न गर्नेमा देशकै उत्कृष्ठ महानगर भएको दावी गरिन् ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई आउँदो ५ वर्षमा विश्वस्तरमा उत्कृष्ठ महानगर बनाउने बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटिय क्षेत्रका नागरिकले कहिलै दुख भोग्नु नपर्ने बताइन् । मार्ग निर्देशक सुशीलचन्द्र आचार्यले आयोजनाको बारेमा जानकारी दिँदै रामघाट, शिवघाटदेखि गोलाघाटसम्म २२ किमी नारायणी नदीमा तटबन्धनका साथै पहुँच मार्ग र हरियालीकरण सम्पन्न हुँदा नदी कटान र डुबानको दिगो रूपमा समाधान हुनुका साथै पर्यटकीय क्षेत्रको रूपमा विकास हुने बताए । ४ अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य २ वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।
त्यस्तै भरतपुर महानगरपालिकाको महानगरिय रिङरोड अन्तर्गत सिसही, सिमरी टाउन खण्डको २९ करोड लागतको १२ किमी महानगरीय रिङरोडको समेत प्रचण्डले शिलान्यास गरेका थिए ।


