चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आज ७६० किलो नक्कली मह नष्ट गरेको छ ।
लुकाइछिपाई बजारमा बिक्री गर्ने तयारीमा रहेको मानवस्वाथ्यलाई हानी गर्ने महजस्तो देखिने तरल पदार्थ (नक्कली मह) नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय परिसरभित्र खाल्डो खनेर आज नक्कली मह नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय भण्डाराले गत फागुन २७ गते राप्ती नगरपालिका वडा नं ५ स्थित एक होटलमा शंका लागि जाँच गर्ने क्रममा नेपाल सरकारले तोकेअनुसार गुणस्तर नपुगेको र मानवस्वाथ्यलाई हानी गर्ने महजस्तो देखिने सामग्री जफत गरेको थियो । सोही सामग्री नष्ट गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रशासन कार्यलयले ७६० किलो नक्कली मह नष्ट गरेको थियो ।
फागुन २७ गते नै नक्कली मह कारोबारमा संलग्न भएका भारत बिहार जिल्ला घर भई हाल सुनसरी झुम्का २ बस्ने वर्ष १८ का अजय करोडी, वर्ष ३८ का कलास करोडी, वर्ष १८का राजेश किशोर, वर्ष ४५का राजेश चौधरी, वर्ष ४२ का ललन चौधरी, वर्ष २० का सुमित चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रत्येकलाई पाँच हजार जरिवाना, दुई सय क्षतिपूर्ति र १६ दिन कैद सजाय तोकिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

