भरतपुर । माडी नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । त्यस आवको वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजन भएको बजेटमाथि महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार माडी नगरपालिकाले अधिकांश कार्यक्रमको बजेट ऐन कानुनविपरीत गएर निकासा गरेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले माडी नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को कुल बेरूजु १० करोड २० लाख ८४ हजार रूपैयाँ औँल्याएको छ । जसमा अनियमित भएको ४ करोड ९ लाख ९८ हजार, असुल गर्नुपर्ने २४ लाख ३९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४ करोड ९७ लाख ४९ हजार र पेश्की बाँकी ८८ लाख ९८ हजार रूपैयाँ छ ।
नियमित गर्नुपर्नेबाहेकका अधिकांश बेरूजु रकम फस्र्याैट भइसकेको माडी नगरपालिकाका लेखापाल विश्व कोइरालाले दाबी गरे । अनियमितरुपमा भएको खर्चलाई लेखा समितिले आगामी नगरसभामा लैजाने उनले बताए । आवश्यक प्रमाणहरु जुट्न सके नगरसभाले अनुमोदन गर्ने उनको भनाइ छ ।
त्यस आवमा नगरपालिकाले छनोट गरी कार्यान्वयन गरेका अधिकांश योजनाहरुको सम्भाव्यता अध्ययन नभएको पाइएको छ । सम्भाव्यता अध्ययन नगरी गरेको योजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्ने र त्यसले प्रतिफल पनि नदिने भन्दै महालेखाले सचेत गराएको छ ।इचितवनपोस्टबाट