चितवन। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको आज अवलोकन गरेका छन् । उनले नारायणी नदीले कटान गरेको पश्चिम चितवनका विभिन्न क्षेत्रको अवलोकन गरेका हुन् । मुख्यमन्त्री पौडेलले नारायणी नदीले कटान गरेको गोलाघाट, न्युरे चोक, सिस्वार, गाँजीपुरलगायतका नदी तटीय क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयका समस्या बुझे । भरतपुर महानगरपालिकाको वडा नं. २६ र २७ का विभिन्न स्थानमा नारायणी नदीले कटान गरेको छ भने चैते धान लगायतका अन्नबालीमा क्षति पु¥याएको छ । स्थानीयले वर्षेनी नारायणी नदीले दुःख दिएको भन्दै दीर्घकालिन समाधानका लागि आग्रह गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले तत्कालिन र दीर्घकालिन रुपमा नदी नियन्त्रणको काम हुने विश्वास स्थानीयलाई दिलाए । उनले भने “वर्षा शुरु भईसकेकाले तत्कालका लागि यसलाई नियन्त्रण गर्ने कामका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्छ ।” उनले दीर्घकालिन रुपमा नारायणी नदीलाई व्यवस्थित गरी सदाका लागि यो समस्या अन्त्य गर्न प्रदेश सरकार लागिपर्ने बताए ।
उनले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा दीर्घकालिन रुपमा नदी नियन्त्रणको काम गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री पौडेलले मानव वस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि गर्न सकिने कामका लागि प्रदेश सरकारले यथोचित बजेट उपलब्ध गराउने बताए । यो वर्ष पुनः बाढी आउन सक्ने भन्दै मुख्यमन्त्री पौडेलले सबैलाई सचेत रहन आग्रह समेत गरे ।
स्थानीयले नदी किनारबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् हुँदा वर्षेनी नदी मानव वस्तीतर्फ आईरहेको तर्फ ध्यानाकर्षण गराएका थिए । अवलोकनमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, प्रदेश सांसद विजय सुवेदी र कृष्ण भूर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, सम्बन्धित वडाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।