चितवन । कुसुमखोलामा चेपाङ परिवारहरुको घरटहरामा आगजनी गरी अमानवीय कार्य गरेको भन्दै सत्ता गठबन्धनमा आवद्ध माडीका चार राजनैतिक दलले निन्दा र भत्र्सना गर्दै गरेका छन् ।
नेपाली काँग्रेसका नगर सभापति कोमलनाथ भुसाल, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष प्रभु प्रसाद महतो, नेकपा (एकीकृत समाजवादी)का नगर अध्यक्ष पुरन महतो र जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष रमाकान्त सापकोटाले संयुक्त प्रेस वक्तव्य जारी गर्दै निकुञ्जको सो कदमको बिरोध गरेका हुन् ।
माडी नगरपालिका वडा नं. ९, कुसुमखोलामा १६० चेपाङ घरपरिवार बस्दै आएकोमा नगरपालिकाले १५९ घरपरिवारको स्थानान्तरण गरेको र हाल थप केहि घरहरु निर्माण भई पुनः बस्न थालेको भन्दै वक्तव्यमा सो स्थान भौगोलिक अवस्थाको कारण बसोवास गर्न उपयुक्त स्थान नभएको उल्लेख गरिएको छ ।
यस्तोमा, कसुमखोलाका बासिन्दाको उचित बसोवासको ब्यवस्था गर्न घरहरु निर्माण भइरहेको र बाँकी रहेका परिवारकों उचित बसोवासको ब्यवस्थापन गर्न माडी नगरपालिका र यहाँका राजनैतिक दलहरु प्रयत्नशील रहेकोमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले स्थानिय सरकार तथा सरोकारवाला राजनैतिक दलहरुसंग कुनै पनि समन्वय नगरी बिना जानकारी गत चैत १३ गते घरटहरामा आगजनी गरी अमानवीय कार्य गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।


