चितवन । पश्चिम चितवनको कसरास्थित विक्रम बाबा थानमा यसबर्ष मेला लाग्ने भएको छ । कोरोनाका कारण पछिल्लो २ बर्ष औपचारिक पूजामै सिमित रहेको उक्त थानमा चैते दशैको अवसर पारी आउँदो चैत १८ देखि १५ दिनसम्म मेला लाग्ने भएको हो।
केरुङगा उपभोक्ता समिति र पहिटानी उपभोक्ता समितिको संयुक्त आयोजनामा दिवाकालिन मेला घैलाघारी सामुदायिक वन बाहिरको सडक छेउछाउमा मेला सञ्चालन हुने भएको छ।
विक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । विक्रम बाबाको पूजा वा भाकल गरे सन्तान र सुख प्राप्ति हुने तथा मनोकांङक्षा पूरा हुने जनविश्वास छ । सोही समयमा माडीको गोद्धक, सोमेश्वर र अयोध्या क्षेत्रमा समेत रामनवमी विशेष मेला र पूजा कार्यक्रमहरु आयोजना भएका छन् ।

