बिराटनगर। मोबाइलको सिम चोरी गरेको झुटाे आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवती दलित महिलाले मानसिक सन्तुलन गुमाएकी छिन् । मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तीकी देविका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा तीन महिनाको गर्भवती २५ वर्षीया शोभा दर्जीले मानसिक सन्तुलन गुमाएकी हुन् । कुटपिटपछि कडाखाले मानसिक रोगी बनेकी शोभाको हाल सुनसरीको धरानस्थित बिपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ ।
छिमेकीको मरणासन्न कुटपिटबाट मानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने र उपचारका लागि धामीझाँक्री लगाउने गरेको थियो । तर, औषधि सेवन गर्नुपर्ने दिमागी रोग भएकोले धामीझाँक्रीले उनको रोग निको पार्न सकेनन् ।
रोग बल्झिँदै गएपछि उनी झन् बिरामी भइन् । मानसिक रोगी शोभाले दिन प्रतिदिन छिमेकी मगर परिवारलाई जथाभावी गालीगलौज गर्दै हिँड्न थालिन् । गाउँलेले बाैलाहीले गाउँमा दुःख दिन थालेको भन्दै उल्टो आरोप लगाउन थालेपछि परिवारले उनलाई बाँधेर राख्न थाल्यो । तैपनि उनको व्यवहारमा सुधार नभएपछि वडाध्यक्षको सहयोगमा उनलाई उपचारका लागि १० दिनअघि अस्पताल भर्ना गरिएको बुबा हर्कबहादुर दर्जीले बताए ।
अस्पताल भर्ना भएर उपचार गराइरहेकी शोभाको स्वास्थ्यमा अझै सुधार आइनसकेको र उनी तीन महिनाको गर्भवतीसमेत रहेको चिकित्सकहरूले जानकारी दिएको श्रीमान् उमेश तामाङले बताए । श्रीमान् उमेशका अनुसार गर्भवती भएकोले रोगको हिस्ट्री पत्ता लगाउन चिकित्सकहरूले शोभाको सिटी स्क्यान गराउन सकेका छैनन् ।
उमेश तामाङसँग अन्तर्जातीय विवाह गरेकी शोभाकी सात वर्षीया एक छोरी छिन् । उनीहरू पनि नजिकै रहेको चिसाङ खोलामा गिटी कुटेर जीविकोपार्जन गर्ने गर्दथे । नयाँपत्रिकाबाट