चितवन । चुनावमा गठबन्धनको भुंगोले भरतपुर पूरा तातिरहेको छ । चोकचोकमा चुनावी गठबन्धनको चर्चा भइरहेको छ । भरतपुर महानगर प्रतिष्ठाको विषय बनिरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आएर केन्द्रबाट कांग्रेसले आफ्नो पार्टीसँग भरतपुर महानगरमा गठबन्धन गर्ने बताएका छन् । उनले चितवन कांग्रेसले बोलेर केही हुँदैन केन्द्रले गठबन्धन गर्छ भनेका थिए । यो विषयले भरतपुर अझ चर्चामा छ । प्रचण्डले बोलेको आवाजलाई खण्डन गर्दै कांग्रेसका चितवन सभापति राजेश्वर खनालले काउन्टर दिए । यदि स्थानीय तहमा सहमति नभई केन्द्रमा चुनाव भए चुनावको नतिजा खिलापमा आउनसक्ने चेतावनी खनालले प्रचण्डकै अगाडि दिए ।
स्थानीय तहको मुखमै चितवन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र र छोरी रेनु दाहाल मेयर रहेको भरतपुर महानगर क्षेत्रमा थुप्रै शिलान्यास र उद्घाटन गरे । पार्टीका नेता रकार्यकर्तालाई राजनीतिक प्रशिक्षण समेत दिए । भरतपुरको विकासको बारेमा बोल्न नसक्नेहरु प्रचण्डले दनक दिँदै साथीहरुलाई चुनाव लागेछ भन्ने जवाफ दिए । जिल्ला तहमासमेत चर्चा र काउन्टरको जवाफ आइरहेको हुनाले यतिबेला भरतपुर चुनावी गठबन्धनको भुंग्रोमा सल्बलाइरहेको छ ।
महानगरको प्रशासकीय भवनको शिलान्यास गर्दै प्रचण्डले आफ्नै छोरी रेनु र भरतपुरको मेयरका रुपमा उनले गरेका कामको प्रशंसा गरेका थिए । अन्य वक्ताहरुले भरतपुरको विकासमा केही बोलेनन् । भरतपुरको विकासको बारेमा केही नबोल्दा प्रचण्ड फायर भए । भरतपुरको विकासको बारेमा बोल्न पर्दैन ? भन्दै आफूले र भरतपुर महानगरकी मेयर रेनु दाहालले गरेको विकासका फेहरिस्त प्रस्तुत गरे ।
भरतपुर महानगर र त्यस आसपासका क्षेत्रका प्रचण्डको खटाइ, चुनावको मुखमा आएका राजनीतिक तरङहरु र केन्द्रमा भएका भरतपुरको गठबन्धनलाई लिएर भएको चर्चा र नेपाली कांग्रेसका चितवनका नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले थर्काएको सवालले गर्दा पनि भरतपुर यतिबेला चुनावी गठबन्धनको तातो भुंग्रोमा परिरहेको छ ।
नेकपा एमाले पनि पहिला जितको ठाउँ भन्दै भरतपुर महानगरमा एक्लै चुनाव लड्ने बताइरहेको छ । कांग्रेस भरतपुरलाई आफ्नो किल्ला सोचिरहेको छ । माओवादी केन्द्रले रेनु दाहालको विकासले जित आफ्नो पोल्टामा आउँछ भन्ने सोचिरहेको छ । तीन वटा पार्टीको प्रतिष्ठा बनेको भरतपुरमा कस्ले बाजी मार्ला ? गठबन्धन बन्ला कि नबन्ला ? गठबन्धन बने पनि जित कता जाला ? यस्तै पश्नको तातो भुंगोमा भरतपुर रहेको छ ।
भरतपुरमा कांग्रेसले कहिल्यै नजितको इतिहाँस भनेर देउवाले चितवनबाट गएका कांग्रेसका नेताहरुलाई बेसरी थर्काए । भरतपुरमा गठबन्धन नगरी जितेर देखाउन सक्छौँ ? भन्दै चितवनका नेताहरुको सातो खाएपछि भरतपुरको चर्चा अझ चुलिएको छ । चितवनका केन्द्रीय सदस्यहरुले एक्लै भरतपुरमा चुनाव लडेर जिताउन ताकत रहेको प्रधानमन्त्री देउवालाई सुनाएको केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताए । उनले भने, ‘हामीले भरतपुरमा सधैँ जितिरहेका छौँ, प्रधानमन्त्रीले जित्नुभएको छैन भन्नुभयो, यो सत्य होइन, भरतपुरमा जितिरहेका छौँ ।’
प्रचण्डको भरतपुर गृहजिल्ला हो । भरतपुरमा फेरि पनि रेनु दाहाल मेयरमा आउनुपर्छ भन्ने माग सामाजिक सञ्जालमा फैलिरहेको छ । एक नेताका अनुसार प्रचण्ड रेनु दाहाललाई फेरि भरतपुरको मेयर बनाएर संघीय संसदमा आफू चितवन क्षेत्र नं ३ मा सांसदको उम्मेदवार बनेर जित्न चाहन्छन् । यसको लागि पनि प्रचण्ड कांग्रेससँग चुनावी गठबन्धन चाहन्छन् । तर चितवन कांग्रेस यसमा सहमत छैन । कुनै हालतमा भरतपुर महानगरको मेयर कांग्रेसले नछोड्ने नेता गुरुङ बताउँछन् ।
‘अन्तिम पटक’ चितवनबाटै चुनाव लड्ने र आफू अन्त कतै नजाने उनको अभिव्यक्तिले पनि माओवादीका लागि यो सानोतिनो विषय होइन भन्ने देखाउँछ । त्यसका लागि भरतपुर महानगरको निर्वाचन माओवादी केन्द्रका लागि महत्वपूर्ण बनेको छ ।
माओवादी केन्द्र मात्रै होइन, नेकपा एमाले र नेपाली कांग्रेसका लागि पनि भरतपुर महानगर प्रतिष्ठाको विषय बनेको छ ।
नेकपा एमाले पनि पहिला जितको ठाउँ भन्दै भरतपुर महानगरमा एक्लै चुनाव लड्ने बताइरहेको छ । कांग्रेस भरतपुरलाई आफ्नो किल्ला सोचिरहेको छ । माओवादी केन्द्रले रेनु दाहालको विकासले जित आफ्नो पोल्टामा आउँछ भन्ने सोचिरहेको छ । तीन वटा पार्टीको प्रतिष्ठा बनेको भरतपुरमा कस्ले बाजी मार्ला ? गठबन्धन बन्ला कि नबन्ला ? गठबन्धन बने पनि जित कता जाला ? यस्तै पश्नको तातो भुंगोमा भरतपुर रहेको छ ।

