चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा भइरहेको विकासबारे केही नबोलिदिँदा दुःख प्रकट गरेका छन् । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘यहाँ बोल्ने वक्ताहरुले भरतपुरमा भइरहेको विकासबारे केही भन्न सक्नुभएन, ज्यादै संकोच मान्नुभयो । साथीहरुलाई चुनाव लागेछ, भरतपुरको विकास भन्न सक्नुभएन ।’
कार्यक्रममा उनले भरतपुरको विकास देखेर अन्तर्राष्ट्रिय जगत नै चकित भएको बताए । उनले भने, ‘विदेशीले समेत यहाँको विकासलाई मुक्तकण्ठले प्रशंसा गरेका छन्, तर यहाँ बोल्ने साथीहरुले आँखै अगाडि भएको भरतपुरको विकास भन्न सक्नुभएन ।’ वर्सौदेखिको चितवनवासीको चाहना नारायणी तटबन्धको काम पनि पूरा भइरहेको छ । अध्यक्ष प्रचण्डले भने, ‘५ अर्बको नारायणी तटबन्दको योजना टेण्डर भइसकेर प्रक्रिया अघि बढेको छ । यो कुरा साथीहरुले भन्न सक्नुभएन । वर्सौदेखि चितवनको सपना पूरा हुँदैछ भनेर भन्न किन गाह्रो ?’
चार वर्षमा भरतपुर महानगरमा सुशासन भएन, विकृति आयो, भ्रष्टचार भयो भन्ने कहीँकतै नसुनिएको अध्यक्ष प्रचण्डको भनाइ छ । उनले भने, ‘जनताको सेवाको लागि २४ घन्टा खट्ने महानगरको मेयरलाई विस्थापित गर्न खोजियो भने योभन्दा बढी काम गरेर देखाउनुपर्छ, नत्र भरतपुर महानगरवासीले सहन सक्दैनन् ।’ ४१ किलोमिटरको रिंगरोड बनिसकेको बताउँदै अध्यक्ष प्रचण्डले राम्रो कामलाई राम्रो भन्न सुझाव दिए ।
राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ । ‘राम्रो कामलाई राम्रो भन्न सकिएन भने दालमा कुछ काला हे भन्ने बुझिन्छ, भोलि नराम्रो कामको आधार बनाउन खोजिएको त होइन ? उनले प्रश्न गरे । राम्रो कामलाई राम्रो भनेर आउने दिनमा अरुलाई पनि राम्रो काम गर्न बाध्य पार्नमा उनले जोड दिए । सहमति, सहकार्य र एकता गरेर संविधान बनाइएको कुराहरुलाई बिर्सन नहुने उनको भनाइ छ । उनले चुनावतर्फ संकेत गर्दै भने, ‘आफ्नै ढंगले चलेको भए संविधान सभा हुन्थ्यो ? संविधान सभाबाट संविधान बन्थ्यो ? सहमति, एकता र सहकार्य अनिवार्य छ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘सिटी हल कुन मिहिनेतले बनेको हो ? मलाई जति अरुलाई थाहा छैन । कति ठूलो बहस संघर्ष गरेर सिटी हल ल्याएको हो मलाई थाहा छ ।’ उनले सिंचाइ, विद्युत् भूमिगत, पूर्वाधार विकासजस्ता सयौँ काम भरतपुर महानगरमा भएका कारण भरतपुर अन्तर्राष्ट्रिय स्तरको सहर भएछ भनेर विश्लेषण भइरहेको बताए ।
मकवानपुर, चितवन र नवलपरासीलाई जोडर यहाँको विकास गर्न सकिने उनले बताए । भरतपुर महानगरको मेयरको एमाले र कांग्रेस सबैसँग सम्बन्ध राम्रो भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘भरतपुर महानगरको टिम र एकता अक्षुग्न रह्यो ।’

