नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयले १७७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालतबाट २०४३ सालदेखि विभिन्न मितिमा फैसला भई सजाय तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार १७७ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरीएको हो । पक्राउ पर्नेमा सबै भन्दा पुरानो २०४३ सालदेखि फरार रहेका १ जना वन मुद्दाका अभियुक्त पनि छन् । तत्काल सम्मानित नवलपरासी जिल्ला अदालतबाट १ हजार १ सय ६ रुपैयाँ जरिबाना तोकिएको छ ।
सम्मानित अदालतको लगतअनुसार प्रक्राउ पर्नेमा अधिकतम सजाय जवरजस्ती करणी मुद्धाका १ जना अभियुक्तको ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना तोकिएको छ भने अन्य अभियुक्तहरुको कसुर अनुसार कैद तथा जरिवाना तोकिएको छ । पक्राउ परेका १७७ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ५१ वर्ष ६ महिना ९ दिन कैद र २१ लाख ३० हजार ६२५ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरिएका सबै फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित नवलपरासी जिल्ला अदालतमा पेश गरिसकिएको छ ।

