चितवन । भरतपुर महानगरपालिका वडा नंं ६ केशरवागस्थित रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि देशकै नमुना सहकारी हो । कोरोना भाइरस महामारीका बेला मुलुकका धेरै दुग्ध उत्पादक सहकारीहरु बन्द भए तर अन्नपूर्णले निरन्तर किसानको दूध संकलन गरेर प्रशोधन समेत गरेको छ ।
महामारी र बन्दका बेला पनि किसानले उत्पादन गरेको दूध संकलन गरेर पाउडर दूध उत्पादन गरी किसानको दूधलाई सदुपयोग गरेको सो संस्थाले जनाएको छ । यसले गर्दा बन्दाबन्दीमा किसनाले सडकमा दूध पोख्न परेको छैन । उक्त संस्थाका अध्यक्ष ऋषिराम चापागाईंले दिएको जानकारी अनुसार सरकारले निषेधाज्ञा जारी गरेको समयमा पनि संस्थाले दैनिक किसानहरुसँग ८ हजार लिटर दूध संकलन गरिरहेको छ ।
संकलित दूधमध्ये एक हजार ५ सय लिटर दूधलाई प्रशोधन गरी दूध, दही, घिउ, पनिर, नौनी, क्रिम बनाएर बिक्रीवितरण गर्ने गरेको अध्यक्ष चापागाईंले बताए । महामारी सुरु हुनुअघि ५ हजार लिटर दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बनाई बिक्रीवितरण गर्ने गरेको उनले बताए ।
त्यसैगरी २ हजार लिटर दुग्ध विकास संस्थान, आधुनिक डेरी काठमाडौँ र भलटार डेरी धादिङमा जाने गरेको छ । बाँकी साढे ४ हजार लिटर दूध प्रशोधन गरी पाउडर दूध र नौनी बनाउने गरेको अध्यक्ष चापागाईंले बताए ।
किसानबाट संकलित उक्त दूध पोखरामा रहेको सुजल मिल्क उद्योगले लिएर पाउडर बनाइदिने गरेको छ । उक्त पाउडर र नौनीपुनः संस्थामा ल्याउने गरेको उनले बताए । २५ केजीको प्याकिङमा आएको पाउडर दूध किसानले ल्याएको दूधको परिमाणको आधारमा फिर्ता दिने गरेको उनको भनाइ छ । १३ लिटर दूध बराबर एक केजी पाउडर तयार हुने र त्यसको लागत १४ रुपैयाँ ५० पैसा प्रति केजी पर्ने गरेको अध्यक्ष चापागाईंले जानकारी दिए । किसानले दूध ल्याएको अनुपातको आधारमा पाउडर दूध दिने गरेको उनले बताए । बन्दाबन्दी र महामारीको बेला किसानको दूध सडकमा खनाउन नपरोस् भन्नका लागि यो अभियान सुरु गरिएको अध्यक्ष चापागाईंको भनाइ छ ।
वैशाख महिनामा संस्थाले किसानसँग दूध खरिद गरेर पाउडर बनाइ भण्डारण गरिराखेको छ । संस्थाले बिक्री वितरण गर्नुपर्ने ६ सय बोरा अर्थात् १५ हजार केजी पाउडर दूध भण्डारण गरी राखिएको उक्त संस्थाका व्यवस्थापक करुण पोख्रेलले बताए । उक्त दूध प्रति केजी ६ सय रुपैयाँका दरले बिक्री वितरण गरिरहेको उनले जानकारी दिए । बजार बन्द हुँदा र मिल्क होलिडेमा पनि दूधको सदुपयोग गर्न यो अभियान सुरु गरेको उनको भनाइ छ ।
यसरी तयार गरी भण्डारण गरिएको दूधलाई १ केजीको प्याकेजिङ गरी किसानलाई दिने गरेको र किसानले गाउँ सहरमा लगी बिक्रीवितरण गर्न सुरु गरेको उनले बताए । उक्त दूधलाई उत्पादन मितिले १८ महिनासम्म प्रयोग गर्न सक्ने व्यवस्थापक पोख्रेलको भनाइ छ ।बन्दाबन्दी र महामारीले गर्दा दुग्ध विकास संस्थान र निजी डेरीहरुले उत्पादन गरेको ठूलो परिमाणको पाउडर दूध बिक्रीवितरणमा नभएर भण्डारणमा रहेको बताइएको छ । केन्द्रीय दुग्ध उत्पादक संघका सदस्य भागिरथ तिमिल्सेनाका अनुसार निजी डेरी र संस्थानले करिब ४ अरब बराबरको पाउडर दूध चितवन मिल्क उद्योग र पोखराको सुजल मिल्क उद्योगमा भण्डारण गरेका छन् । बन्दाबन्दीले बिक्रीवितरण हुन नसक्दा किसनाले दूधको मूल्य समयमै पाउन नसकेको अध्यक्ष तिमिल्सेनाले बताए ।
अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका तिमिल्सेनाले गत वर्षको बन्दाबन्दीमा १६ हजार ६ सय ५० केजी पाउडर दूध बेचेर एक करोड संस्थाले आम्दानी गरेको बताए । उक्त पाउडर विभिन्न डेरी उद्योग, संघसंस्था, उद्योगीले खरिद गरेको संस्थाले बताएको छ ।
अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका किसानहरुले पाउडर दूधको प्रयोग गर्न थालेका छन् । भरतपुर–६ केशरवागका उपेन्द्र भण्डारीले आफैले संस्थालाई दिएको दूधबाट बनेको पाउडरलाई गाउँघरमा लगेर बिक्रीवितरण गर्न थालेको बताए । भण्डारीले १८ वटा गाई पालेको र दैनिक १ सय ५० लिटर दूध संस्थालाई दिने गरेको बताए । संस्थाले १÷१ केजीको पोका बनाएर दिएको छ । त्यसलाई ६ सय रुपैयाँका दरले बेच्न थालिएको छ, उनले भने । यो अभियानले एक दिन पनि दूध सडकमा फाल्नु नपरेकोले आफू खुसी नै भएको भण्डारीले बताए ।
भरतपुर २१ पार्वतीपुरका रामचन्द्र देवकोटाले बन्दाबन्दीमा सडकमा दूध खन्याउनु भन्दा पाउडर दूध बनाएर बेच्न फाइदा हुने बताए । आफूले गाउँघरको दूध संकलन गरी दैनिक २ सय लिटर दूध संस्थालाई बेच्ने गरेको उनले बताए । संस्थाले पाउडर दूधको महत्व बुझाउन सकेमा किसानलाई बजारीकरणमा सजिलो हुने देवकोटाको भनाइ छ ।
त्यस्तै भरतपुर ६ का सूर्यप्रसाद अम्गाईंले पनि आफूले दिएको दूधबाट बनेको पाउडर दूध लगेर बेच्ने तयारी गरेको बताए । दूध बेचेर नगद लिएजस्तो फाइदा नभए पनि बन्दाबन्दीमा गाईवस्तुलाई दाना, चापट किन्न टेवा पुग्ने उनले बताए ।
पाउडर दूध घरमा चिया पकाउनेदेखि कुखुरालाई भिटामिनको रुपमा समेत प्रयोग गर्न सकिने स्वास्थ्य विज्ञहरुले बताउँछन् । कुखुरापालक किसानले चल्लालाई भिटामिनको रुपमा यो पाउडर दिने गरेका छन् । यो दूध खाएपछि कुखुरा पनि निरोगी हुने स्वास्थ्य विज्ञको भनाइ छ । दहीमा स्वाद ल्याउन पनि यो मिसाइन्छ । डेढ वर्षसम्म भण्डारण गरेर प्रयोग गर्न सकिने हुनाले पाउडर दूधको महत्व बढ्दै गएको छ ।