चितवन । १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राख्ने निर्मल पुर्जा चितवनको रामनगरवासी हुन् । उनै पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखे । उनले आफ्नो नाममात्र विश्वमा फैलाएनन्, चितवन र रामनगरको पनि नाम चम्काए । आज उनै निर्मल पुर्जालाई सम्मान गर्ने चितवनवासीले ठूलो अवसर पाएका छन् । हिमाल चढेर नयाँ कीर्तिमान राखेका पुर्जाले चितवनको मात्र होइन, देशकै नाम विश्वमा फैलाएका छन् ।
चितवनको रामनगरमा एउटा तारा यसरी चम्कियो, जुन ताराले आफूलाई मात्र चक्काएनन्, आफू जन्मेको ठाउँ म्याग्दी, ६ वर्षदेखि बस्दै आएको चितवनलाई मात्र होइनन् । आज नेपाल देशलाई नै उनले विश्वसामु चम्काइदिएका छन् । निर्मला पुर्जा यस्तो एउटा चम्किलो तारा बनेका छन्, जुन सदैव चम्किरहेका हुनेछन् । उनको साहसलाई आज विश्वले उच्च सम्मान गरेको छ । उनै साहसी निर्मल पुर्जालाई चितवनवासीले सम्मान गर्ने अवसर जुरेको छ ।
को हुन् निर्मल पुर्जा
निर्मल पुर्जा एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्, जसले ७ महिनाभन्दा कम अवधि (१८९ दिन) मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेका छन् । यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ् हो थिए, जसले १४ (हिमालको आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएर) हिमाल आरोहण गरे । सन् १९८७ मा कायम गरेको कीर्तिमान निर्मलले यस आधा वर्षमै र एउटै ऋतुमा गरेका हुन् ।
निर्मल ८ हजार मिटरमाथिका १४ वटै हिमाल आरोहण गर्ने भने ४४ ओँ आरोही हुन् । निर्मल पुर्जा यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौँ र गैरसेर्पा नेपालीमा पहिलो हुन् । यी सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली भने मिङ्मा सेर्पा हुन् भने त्यसपछि नेपालीहरु छाङदावा सेर्पा, सानु सेर्पा र मिङ्मा डेभिड सेर्पाले १४ वटै उच्च हिमाल आरोहण गरेका थिए । उनी नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका ३, दाना भन्ने ठाउँमा सन् १९८३ मा जन्मिएका हुन् । ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेसल फोर्सेस (यूकेएसएफ) मा बिताएका थिए ।

सन् २०१२ डिसेम्बरबाट निर्मल पुर्जाले हिमाल चढ्न सुरु गरेका हुन् । सगरमाथाको आधार शिविर पुगेपछि अनायासै हिमाल चढ्ने सोख पलाएको उनले सञ्चार माध्यममा बताएका छन् । हिमाल आरोहणक्रमलाई मानव क्षमताको परीक्षण भएको र त्यसमा सफल भएको दावी गरेका छन् । ४ पटक सगरमाथा चढ्दा ट्राफिक जामले सात घण्टा कुर्नुपरेको बताउने उनले खिचेको त्यही ट्राफिक जामको तस्बिर सञ्चार माध्यम र इन्टरनेटका विभिन्न सञ्जालमा व्यापक फैलिएको थियो ।
असम्भवलाई सम्भव बनाउने लक्ष्य
७ महिनाभित्र सबैभन्दा ठूला १४ वटै हिमाल आरोहण गर्ने अभियान थालेका थिए । ‘असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो’ पुर्जाले आफ्नो ट्विटरमार्फत् भनेका छन् । ७े अप्रिल २०१९ बाट सुरु गरेको यस अभियानअन्तर्गत उनले सन् २०१९ मे २०१९ मा विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहण गरेका थिए । उनले महालंगुर हिमशृंखलामा पर्ने सगरमाथा, ल्होत्से र मकालु हिमाल ४८ घन्टाभित्र चढ्दा यसअघि पाँच दिनमा चढेको आफ्नै कीर्तिमान तोडेका थिए ।
गृहजिल्ला चितवनमा भोलि सम्मान
कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । भोलि बिहीबार उनलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो ।
गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए। उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३ बजेदेखि सांस्कृतिक कार्यक्रम, ४ बजे नारायणी नदी किनारमा सम्मान र साँझ ६ बजे वृत्तचित्र प्रदर्शन गरिने छ ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गर्नुभएका पूर्जाले ती हिमाल आरोहणका लागि छ महिना छ दिन मा पूरा गरेका हुन् । नेपालका आठ, पाँच पाकिस्तानका र एउटा चीनको हिमाल आरोहण गरेका पूर्जा भरतपुर महानगरपालिका–१ रामनगर निवासी हुन् । सन् १९८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा जन्मेका पूर्जा छ वर्षको उमेरदेखि रामनगरमा बस्दै आएका छन् ।

पुर्जालाई सम्मान
बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही पूर्जालाई सम्मान गरेको थियो । पूर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दी बरो’ उपाधिसहित सम्मान गरिएको हो । उनी नेपाल पर्वतारोहण सङ्घको सद्भावना दूतसमेत हुन् ।

