नवलपुर । पूर्व-पश्चिम महेन्द्र राजमार्गको गैंडाकोटमा सडक भासिएर अवरुद्ध रहेको सडकमा एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ ।
राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भासिएर अवरुद्ध रहेको सडकमा कल्भर्ट राखेर केहीबेर अघिदेखि एकतर्फी रूपमा यातायातका साधन चलाउन थालिएको हो । गैंडाकोट नगरपालिका वडा नम्बर १० खरखरे भन्ने स्थानको डाइभर्सन मंगलबार बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । बाटो खुलाइएसँगै हिजोदेखि रोकिएका २ सय बढी मालवाहक ट्रक हिँडेका छन् ।
उता महेन्द्र राजमार्गको दाउन्ने स्थित ध्यू खोला नजिक सडक भासिएका कारण राजमार्ग अवरुद्ध भएको छ । महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिडेका सयौं मालवाहक गाडी र साना गाडी प्रहरीले दुम्किवास र बर्दघाटमा रोकेको जानकारी दिएको छ ।
लगातारको वर्षाका कारण दाउन्नेका ठाउँठाउँमा पहिरो खस्ने र सडक भासिने भएको छ । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन नसक्दा यातायात सुरु हुन नसकेको हो ।