चितवन। जिल्ला प्रहरी कार्यालय चितवनको गेटदेखि नजिकैको चौरसम्म म्यादी प्रहरी बन्ने सपना बोकेका हजारौं युवायुवतीको लामबद्ध लाइन छ। कोही म्यादी प्रहरी बन्ने रहरले यहाँसम्म पुगेका छन् त कोही बाध्यताले पुगिरहेका छन्। दिउँसो एक बजेको टन्टलापुर घाममा सलले पसिना पुछ्दै लाइनमा बसेकी एक युवती हुन् भरतपुर महानगरपालिका १७ भुवनबस्तीकी २९ वर्षीया कमला परियार।
परियार बिहान ११ बजेदेखि म्यादी प्रहरी बन्ने सपना बोकेर लाइनमा बसिरहेकी छन्। दुधे बालक छिमेकीको भरमा छोडेर उनी प्रहरी कार्यालयसम्म पुगेकी छन्। ‘बिहानदेखि लाइन बसेको अहिलेसम्म फर्म पनि पाउन सकिएको छैन। रहरले आएको भए भिडभाड देखेर फर्किन्थे होला, बाध्यताहरू धेरै छन’ उनले भनिन्, ‘अरु काम गर्न धेरै पढेलेखेको छैन। म्यादी प्रहरी बन्न सकियो भने एक दुई महिना भए पनि गुजारा चल्छ कि ? भनेर बसेको अहिलेसम्म पनि फर्म पाइएको छैन।’
दुधे बालक अरुको भरमा छोडेर फर्म भर्न प्रहरी कार्यालय पुगेकी परियारको मनमा एकातिर छोराको चिन्ता अनि अर्को तिर लामबद्ध लाइनमा बसिरहँदा पनि फर्म नपाउने हो कि भन्ने चिन्ता। उनी निकै हतासमा देखिन्थिन्।
गृहजिल्ला स्याङजा भएकी परियार भरतपुर १७ मा डेरा गरी बस्दै आएकी छन्। एक वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा गएका श्रीमानले घर खर्च समेत नपठाएपछि उनी म्यादी प्रहरी बन्न हिँडेको बताउँछिन्। अन्य समयमा उनी मेलापात गरी जीविकोपार्जन गर्ने गरेको बताउँछिन्।

परियारसँगै लाइनमा बसेकी २८ वर्षीया शिला सुनार पनि आफुलाई उस्तै समस्याका कारण म्यादी बन्न चाहेको बताउँछिन्। ‘गाउँ घरमा काम पाउन मुस्किल छ। दिनभर मेलापात गर्दा पनि गर्दा घरखर्च चलाउनुपर्छ’ उनी भन्छिन्, ‘म्यादी प्रहरीमा भर्ना खुलेको छ हामीले पनि फर्म भर्न पाइन्छ भनेर आएको। छनोट हुन् सकियो भने केही भए पनि राहत मिल्थ्यो भन्ने आशा छ।’
दुधे बालक अरुको भरमा छोडेर फर्म भर्न प्रहरी कार्यालय पुगेकी परियारको मनमा एकातिर छोराको चिन्ता अनि अर्को तिर लामबद्ध लाइनमा बसिरहँदा पनि फर्म नपाउने हो कि भन्ने चिन्ता। उनी निकै हतासमा देखिन्थिन्।
यस्तै, म्यादी बन्ने सपना देखेकी भरतपुर १२ की २१ वर्षिया इशा दराई प्रहरीको आवेदन दिनका लागि त्यही भिडमा लाइन बसेकी छन्। अहिले पढाइ नभएका बेला खाली समयको सदुपयोग हुने र म्यादी प्रहरी बन्ने सपना पनि पूरा हुने भएका कारण आफू आएको उनले बताइन् । सानैदेखि प्रहरी बन्ने आफ्नो सपना रहेको बताउँदै उनी भन्छिन् ‘आफ्नै देशमा केही गरी देशको सेवा गर्ने मन छ।’
त्यही भीडमा भरतपुर ६ गीतानगर ३९ वर्षिया दुर्गा खत्री पनि म्यादी प्रहरी बन्नकै लागि लाइनमा बसेका छन्। दुबईमा रोजगारका विगत ११ वर्ष बिताएका खत्रीले अहिलेसम्म अरुको देशमा पसिना बगाएको बताउँदै अब आफ्नै देशको सेवा गर्न म्यादी बन्न लागेको बताइन्।
म्यादी प्रहरीलाई दीर्घकालीन रोजगारी
हरेक पाँच वर्षमा निर्वाचन हुने गर्छ। स्थानीय, प्रदेश र संघीय गरी तीन तहका निर्वाचन। मन्त्री र सांसदका संख्या जति छन् त्यो भन्दा बढी बेरोजगार ! त्यसैको फलस्वरूप लाग्ने गर्छ प्रत्येक निर्वाचनमा म्यादी प्रहरीको लाइन। म्यादी प्रहरीको लाइनले नेपालमा बेरोजगारीको संख्या प्रत्यक्ष दर्शाउँछ। अब म्यादी प्रहरीको दीर्घकालीन समाधान हुन् जरुरी छ। म्यादी प्रहरीको दीर्घकालीन समाधान गर्न सके यसले गर्दा राज्यलाई दोहोरो फाइदा पुग्नेछ।
बेला मौकामा पाउने रोजगारी हो म्यादी प्रहरी। एक म्यादी प्रहरी उत्पादन गर्न पनि राज्यले मोटो रकम खर्च गर्ने गर्छ। त्यस्तै नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरी उत्पादन गर्दा झनै त्यो भन्दा बढी खर्च आउँछ। सिमा, चौकी, शहर र गल्लीमा देश र सामाजिक सुरक्षाका निम्ति हतियारसहित खटिने सक्षम जनशक्तिले मन्त्री, सांसदको झोला र छाता बोक्नु कत्तिको उचित हुन्छ ? त्यसको बदलामा म्यादी प्रहरीलाई मन्त्री सांसदका सुरक्षार्थ खटाउने र दक्ष जनशक्ति (आर्मी/प्रहरी)लाई उनीहरुको कर्तव्य (देश र सामाजिक सुरक्षा)मा नै खटाउँदा उचित हुन्छ। त्यसो गर्दा म्यादी प्रहरीले दिर्घकालीन रोजगारी पाउँछन्। देश र जनतालाई थप सुरक्षित महशुस हुन्छ।
स्थानीय सरकारलाई पनि आफ्नै प्रहरीको जरुरत हुने हुँदा पहिलेनै दक्ष भइसकेका म्यादी प्रहरीलाई परिचालन गरियो भने राज्यको आर्थिक भार कम हुनुका साथै बेरोजगारको संख्या पनि कम हुन्छ। फलस्वरूप म्यादी प्रहरीलाई दीर्घकालीन रोजगारी मिल्छ।

